शरणार्थी प्रकरणबारे गगनले लेखे, 'ठगी गिरोहको भीआईपी जालो उजागर भयो'

शरणार्थी प्रकरणबारे गगनले लेखे, 'ठगी गिरोहको भीआईपी जालो उजागर भयो'

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा 'ठगी गिरोहको भीआईपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति उजागर भएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र नभई संगठित अपराध र मानव बेचबिखन भएको समेत लेखेका छन्।  

यस गिरोहमा संलग्न रहेको आरोपमा पार्टीका दुई पूर्वसांसद प्रहरी हिरासतमा छन्।

'यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो। तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन्' उनले लेखेका छन्। 

यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय रहेको भन्दै उनले अपराधमा संलग्न जुनसुकै परिवार, पद र पार्टीका भए पनि निष्पक्ष छानबिन हुनुपर्ने र कुनै बहानामा अनुसन्धान प्रकियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पार्न नहुने उल्लेख गरेका छन्।

'पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ', उनले लेखेका छन्, 'अपराधमा संलग्न भइसकेपछि अपराधको दल, वर्ण, जात, लिंग वा समुदाय हुँदैन, हुनुहुँदैन। दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैन तर निर्दोष अन्यायमा पनि पर्नु हुँदैन।'​​​​​​​

फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्ने उनको माग छ।

पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्ने अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्ने उनले लेखेका छन्।

'यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो', उनले लेखेका छन्, 'नक्कली भुटानी शरणार्थी प्रकरणमा यो न कांग्रेसको धारणा हो। कांग्रेका लाखौं सदस्यहरूको धारणा हो।'

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिको निजी विषय रहेको र पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्ने तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न नहुने थापाको धारणा छ।

'अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो', उनले लेखेका छन्, 'यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ। अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ।'

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने, आरोपित व्यक्ति निर्दोष भए छुट पाउने र अपराध गरेको भए कानूनबमोजिमको सजाय पाउनुपर्ने उनको धारणा छ।

'जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यहीअनुसार बुझ्नुपर्छ,' उनले लेखेका छन्, 'परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनुपर्छ।' 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै  अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोगजस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न मागसमेत गरे। 

अन्त्यमा उनले लेखेका छन्, 'अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन।'

२ जेठ, २०८०, १९:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।