उद्‍घाटनको एक वर्षमा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन, जजिराले समेत रोक्यो उडान

उद्‍घाटनको एक वर्षमा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन, जजिराले समेत रोक्यो उडान

बुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको आज (मंगलबार) ठीक १ वर्ष पुगेको छ।

२०७९ जेठ २ गते विमानस्थलको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। विमानस्थल उद्घाटनसँगै यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो।

तर अहिले सबै उत्साह निराशामा परिणत भएको छ। विमानस्थल सुरु भएको एक वर्ष पुग्दै गर्दा हाल गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएको छ।

उद्घाटनको दिन पहिलो पटक कुवेतको जजिरा एयरलाइन्सले यहाँ अन्तर्राष्ट्रिय उडान गरेको थियो। तर हाल जजिराले पनि उडान गरेको छैन। ४३ अर्बको लागतमा निर्माण भएको विमानस्थलबाट ७ महिनासम्म जजिराले नियमित उडान गरे पनि अहिले भने विभिन्न कारण देखाउँदै उडान नगरेको हो।

गएको दशैं अगाडि दैनिक उडान गर्ने बताएको जजिराले यात्रु नपाएकै कारण केही दिन दैनिक उडान गरेर फेरि सातामा ३ वटा मात्र उडान गरेको थियो। गत कार्तिक २३ गतेदेखि हिमालय एयरलाइन्सले पनि भैरहवा–क्वालालाम्पुर उडान सुरु गरेको थियो। अहिले हिमालयनले पनि उडान गरेको छैन। 

भैरहवाबाट जजिरा र हिमालय एयरलाइन्सले उडान सुरु गरेपछि अन्य वायुसेवा कम्पनीहरु पनि उडान भर्न आतुर थिए। तर विडम्बना, अहिले अन्तर्राष्ट्रिय उडान गरेका दुवै वायुसेवा कम्पनीले उडान स्थगित गरेका छन्।

जजिरा भैरहवाको आकासमा उड्न छोडेको ३ हप्ता भन्दा बढी भइसकेको छ। विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले वैशाख ७ गतेदेखि उडान रोकेको र अर्को सूचना नभएसम्म जजिराको उडान बन्द भएको बताए। एयरलाइन्सले भने उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको बताएको छ।

प्राधिकरणका अनुसार जजिराले रातिको साढे १ बजे विमानस्थलमा ल्याण्ड र साढे २ मा कुवेतका लागि उड्ने तालिका मागेको हो। तर रातिको समय उपकरण र कर्मचारी थप चलाउनुपर्ने भएकाले तत्काल सम्भव नरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

हाल विमानस्थलमा दिउँसो आन्तरिक उडान हुन्छ। रात्रिकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएको उनले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको वर्ष दिनसम्म नेपाल एयरलाइन्सले पनि उडान थालेको छैन। जजिराले उडान गरेसँगै भैरहवाबाट एक दर्जन भन्दा बढी एयरलाइन्सले उडानमा चासो राखेको बताइए पनि अन्तिम समयसम्म जम्मा २ वटा कम्पनीले मात्र उडान भरेका थिए।

यतिसम्म कि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सले पनि विभिन्न कारण देखाउँदै सरकारले ताकेता गरे पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेको छैन। गएको मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले उडान भर्ने भने पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै उडान नगर्ने बताएको थियो।

अन्तर्राष्ट्रिय उडान स्थगित भएसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो हुने बारे बहस सुरु हुन थालेको छ। विमानस्थल सञ्चालनमा आएपछि खुसी भएका यस क्षेत्रका व्यवसायीहरु पनि चिन्तित बनेका छन्।

विमानस्थलकै कारण यस क्षेत्रका व्यवसायीहरुले होटल, पर्यटकीय गन्तव्य, मनोरञ्जन लगायतका क्षेत्रमा लगानी बढाएका थिए। नाटा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न सरकार पक्षले गम्भीर पहल कदमी लिनुपर्ने बताउँछिन्।

‘यो विमानस्थल बनाउनुको उद्देश्य के थियो? आज एक वर्षसम्म पनि विमानस्थलको हालत किन यस्तो भयो? यसको गम्भीर समीक्षा गर्नुपर्छ,’ उनले भनिन्।

यता अन्तर्राष्ट्रिय उडान रोकिएपछि लुम्बिनीमा आउने पर्यटकले अहिले टिकट रद्द गरिरहेका छन्। उडान स्थगित भएपछि लुम्बिनी आउन टिकट बूकिङ गरेका पर्यटकहरुले रद्द गरिरहेको व्यवसायीको भनाई छ।

जेठ १५ देखि नेपाल एयरलाइन्स उडान थाल्ने

जेठ १५ देखि नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने तयारी गरेको छ। लामो समयदेखि गृहकार्य गरिरहेको निगमले भैरहवाबाट सातामा एक/एक पटक दिल्ली र मलेसियामा उडान गर्नेछ। यसका लागि सम्बन्धित मुलुकहरूसँग अनुमति प्रक्रियामा रहेको बताइएको छ।

निगमले हाल काठमाडौं–मलेसियामा सातामा पाँचवटा उडान गर्छ। त्यस्तै काठमाडौं–दिल्ली सातामा १४ उडान गर्छ।

गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौं र काठमाडौं–मलेसिया–भैरहवा उडान हुनेछ। तर तत्काल भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन।

२ जेठ, २०८०, १०:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।