टप फाइभ : रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान, अदालत जाँदा टोपबहादुरको पोज भाइरल

टप फाइभ : रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान, अदालत जाँदा टोपबहादुरको पोज भाइरल

काठमाडौं : सोमबार संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्यो। बैठकमा सांसद्हरूले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा आफ्ना भनाइ राखे।

बैठकमा सांसद् एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाले आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको र आफूले दिएको उजुरी दर्ता गर्न प्रहरीले तीन घण्टा लगाएका बताइन्। सरकारले मिडियालाई सुपरभिजन गर्नुपर्नेमासमेत जोड दिइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले राजनीतिक दलहरू भ्रष्टाचार नियन्त्रणका लागि तयार सांसद्ले हात उठाउन आग्रह गरे। उनले भ्रष्टाचार नियन्त्रणका लागि सडकमा भन्दा पनि सदनमा आन्दोलनका जरुरत रहेको बताए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठले संसदमा टिसर्ट र जिन्स लगाउन रोक्नु नयाँ पुस्तामाथिको रणनीतिक हमला भएको बताइन्। उनले आरजु राणाले आफ्ना पार्टीकी सांसद् तोसिमा कार्कीलाई बच्चा भनेकोमा प्रतिवादसमेत गरिन्।

त्यसैगरी आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेका विभिन्न देशका राजदूत लगायत कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गरे। सोमबार नै उनले नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा र चौथो महाधिवेशनलाई सम्बोधन गरे।

त्यसैगरी सोमबार नै नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई अदालतमा पेश गरियो। त्यो समयमा उनले फोटो पत्रकारलाई हात हल्लाएर मुस्कुराउँदै दिएको पोज दिनभर भाइरल बन्यो। सामाजिक सञ्जालमा भाइरल बनेको उनको तस्बिरमा निर्लज्जको उपमा दिइएको छ। उनलाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो। सभामुखले रायमाझी पक्राउ परेको सूचना संसदमा सुनाए।

रास्वपा सांसद् सुमना श्रेष्ठले भुटानी शरणार्थी प्रकरणबारे संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराइन्। उनले यो प्रकरणमा भ्रष्टाचार, संगठित अपराध र राष्ट्रद्रोहको मुद्दामा निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने उल्लेद गरेकी छन्।

अब लागौं उकेरा टप फाइभर्फः
उकेराले सोमबार विहान २०५८ कात्तिक २३ गते मुगुको रारामा भएको दुर्घटनाको विषयमा प्रत्यक्षदर्शीको बयानसहितको समाचार लेख्यो। समाचारमा प्रत्यक्षदर्शीले आकाशमै हेलिकप्टर पड्किएको र कर्णेल मात्र पौडी खेल्दै आएको बताए।
पूरा समाचारः रहस्यमय रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान– ‘आकाशमै हेलिकप्टर पड्कियो, कर्णेल मात्र पौडी खेल्दै आए’

यस्तै दिउँसो उकेराले बचतकर्ताहरूले रुपन्देहीको तिलोत्तमा–३ ड्राईभरटोलमा रहेको लुम्बिनी बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकलाई घेराउ गरेको समाचार लेख्यो। बचतकर्ताले रकम फिर्ताका लागि दबाब दिए पनि सहकारीका सञ्चालक र व्यवस्थापकले फिर्ता गर्न आनाकानी गरेपछि घेराउ गरिएको हो।
पूरा समाचारः समस्यामा रुपन्देहीका सहकारी, पैसा फिर्ता नगरेपछि सञ्चालकहरु बचतकर्ताको घेराबन्दीमा

दिउँसो नै उकेराले विद्यालय सुधारको विषयमा लेख छाप्यो। सर्लाहीका शिक्षक प्रकाश पाण्डेले सार्वजनिक विद्यालय होस् या संस्थागत। व्यापक सुधारको आवश्यकता रहेको औंल्याएका छन्। २१औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्न र आफ्नो साख जोगाइराख्न सरकारले तथा विद्यालयले आफूलाई परिमार्जन र सुधार ल्याउनुको विकल्प नै छैन।
पूरा समाचारः विद्यालय सुधारका पाँच खम्बाहरू

साँझपख उकेराले नियमित स्तम्भ उकेरा कोलम अन्तर्गतको भुईंमान्छे प्रकाशित गर्यो। त्यसमा बिहारबाट काठमाडौं आएर कवाडीका सामान उठाउँदै हिँड्ने राजेश यादवको विषयमा समाचार लेख्यो। उनले राजा वीरेन्द्रको परिवारमाथि भएको हत्याकाण्डको भोलिपल्ट काठमाडौं आएको र त्यहिदिन डरले घर फर्किएको बताए।
पूरा समाचारः बिहारबाट काम खोज्न काठमाडौं आएका राजेश भन्छन्, ‘राजा मरिसकेछ, अनि फेरि भागेर घरै गएँ’

राति उकेराले डडेलधुरामा हैजा देखिएकोबारे समाचार छाप्यो। समाचारमा डडेलधुरामा झाडापखाला देखिएर एक जनाको मृत्यु भएको भन्दै देशभर झाडापखालाका बिरामीहरु बढेको उल्लेख गरियो।
पूरा समाचारः डडेलधुरामा हैजा भेटियो, देशभर झाडापखालाका बिरामी बढे

१ जेठ, २०८०, २२:५०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।