समस्यामा रुपन्देहीका सहकारी, पैसा फिर्ता नगरेपछि सञ्चालकहरु बचतकर्ताको घेराबन्दीमा

समस्यामा रुपन्देहीका सहकारी, पैसा फिर्ता नगरेपछि सञ्चालकहरु बचतकर्ताको घेराबन्दीमा

बुटवल : बचतकर्ताहरुले रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राईभरटोलमा रहेको श्री लुम्बिनी बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुलाई घेराउ गरेका छन्।

सहकारीले आफ्नो रकम फिर्ता दिन नसकेपछि बचतकर्ताहरुले सञ्चालकहरुलाई घेराउ गरेका हुन्। बचतकर्ताहरुले रकम फिर्ताका लागि दबाब दिए पनि सहकारीका सञ्चालक र व्यवस्थापकले फिर्ता गर्न आनाकानी गरेपछि सञ्चालकहरुलाई घेराउ गरिएको हो।

दैनिक संकलन भएको बचत रकम फिर्ता माग गरेपछि सहकारीका सञ्चालक सहितको टोली त्यहीको एक पार्टी प्यालेसको हलमा छलफलका लागि पुगेका थिए। तर त्यहाँ कुनै निर्णय नभएपछि बचतकर्ताले सञ्चालकलाई घेरेका थिए। 

सहकारीका बचतकर्ता शालिकराम पाण्डेले आफूले कहिले ५ सय र कहिले १ हजार गरी दैनिक रुपमा रकम बचत गरेको भए पनि आफूलाई समस्या पर्दा सहकारीले पैसा नदिएको गुनासो गरे।

त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं ४ बिष्णुपुरका माधव थापाले आफूले बचत गरेको रकम १ लाख ४० हजार रुपैयाँ पुगिसकेको भए पनि अहिले रकम फिर्ताका लागि माग गर्दा सहकारीले नदिएको बताए।

‘दैनिक बचत अहिले रोकिएको छ। वैशाख २२ गतेबाट रकम संकलन गर्न आउनेहरु आएका छैनन्। बुझ्दा सहकारी समस्यामा गएको रहेछ,’ उनले भने।

उता नयाँमिलकी कल्पना गिरीले पनि आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गरिन्। नयाँमिलमा फेन्सी तथा कस्मेटीक पसल गर्दै आएकी उनले दैनिक रकम बापत बुझाएको रकम फिर्ता हुन नसकेको बताइन्।

अर्की बचतकर्ता शुसिला केसीले दैनिक जम्मा गरे बापतको ६४ हजार बढि रकम सहकारीबाट फिर्ता मागेको भए पनि आफूले नपाएको जानकारी दिइन्।

हाल सहकारीले सूचना टाँस गरेर नै एक साताका लागि सहकारी बन्द भएको बताएको छ। तिलोत्तमा नगरपालिकामा २०७८ सालमा दर्ता भएको श्री लुम्बिनी बहुद्देश्यीय सहकारीले ९ जना कर्मचारी मार्फत बचत संकलन र कार्यालय व्यवस्थापनको काम गर्दै आएको थियो।

तिलोत्तमा नगरपालिका कार्यक्षेत्र भएर दर्ता गरेको उक्त सहकारीले कर्मचारीहरुलाई पायक पर्ने बुटवल उपमहानगरका केही बचतकर्ताहरुसँग समेत रकम संकलन गर्ने गरेको सहकारीका कर्जा अधिकृत रमेश खनालले बताए।

उनले भने आफूहरु समस्यामा नरहेको तर बचतकर्ता एकै पटक रकम फिर्ताका लागि आउँदा रकम भुक्तानीमा समस्या देखिएको बताए।

सहकारीका अध्यक्ष रामजी अर्यालले सहकारीमा करिब १ हजार ८ सय बचतकर्ताहरुबाट संकलन भएको २ करोड २१ लाख तिर्नुपर्ने रकम रहेको बताए। साथै उनले ३ करोड ५५ लाख रुपैयाँ लगानी भएको समेत बताए।

रुपन्देहीमा लुम्बिनी बहुद्देश्यीय सहकारी बाहेक अन्य सहकारी पनि समस्याग्रस्त छन्। जसले महिनौ देखि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्।

कतिपयले कार्यालय नै बन्द गरेर सम्पर्क विहीन जस्तै भएका छन्। शिव शिखर सहकारी २ महिनादेखि बन्द छ। काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सहकारी २ महिनादेखि बन्द हुँदा बचतकर्ताहरु नै अन्योलमा छन्। रकम फिर्ता बारे कहाँ जाने भन्नेमा उनीहरु अलमलमा परेका छन्।

त्यस्तै उपकार सहकारी पनि समस्यामा छ। बुटवलकै आगन्तुक सहकारी, सुप्रिम सहकारी, सत्पदीप सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्।

एकपछि अर्को गर्दै सहकारीहरु डुबेपछि समस्यामा नभएका सहकारीहरु भने आत्तिएका छन्। बचतकर्ताहरु एकैपटक रकम फिर्ता मागका लागि आएको अवस्थामा सहकारीले तत्कालको तत्काल रकम फिर्ता दिन सकिरहेका छैनन्।

बचतकर्ताबाट उठाएको रकम निश्चित क्षेत्रमा लगानी गर्ने भएकाले एकै पटक बचतकर्ताहरु रकम फिर्ता माग्न आएकोले दिन कठिनाइ भएको सहकारीहरु बताउँछन्।

१ जेठ, २०८०, १३:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।