रहस्यमय रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान- ‘आकाशमै हेलिकप्टर पड्कियो, कर्णेल मात्र पौडी खेल्दै आए’

रहस्यमय रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान- ‘आकाशमै हेलिकप्टर पड्कियो, कर्णेल मात्र पौडी खेल्दै आए’

मुगु : २०५८ कात्तिक २३ को दिन। बिहानै राजपरिवारका सदस्य प्रेक्षा शाहसहितको टोली रारा तालसँगै जोडिएको सैनिक ब्यारेकमा हेलिकप्टरबाट ओर्लियो। उनीहरु डोल्पा घुमेर फर्किएका थिए। उनीहरु ब्यारेक भित्र गएनन्। बाहिरै बसेर चिया अनि बिस्कुट खाए।

उनीहरु रारा ताल हेरेर काठमाडौं फर्कंदै थिए। काठमाडौं जान हेलिकप्टर उडेको केही समयमै तालमा डुब्यो। प्रेक्षासहित दुई जनाको शव फेला पर्यो। दुई जना तालमै गायब भए। दुई जनाको ज्यान जोगियो।

२०५८ को जेठ १९ मा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको परिवारसहित अधिकांश राजपरिवारका सदस्य मारिए। धीरेन्द्रको समेत मृत्यु भएको थियो सो घटनामा। त्यसको पाँचै महिनामा धीरेन्द्रकी श्रीमती प्रेक्षा समेत हेलिकप्टर दुर्घटना, त्यो पनि रारा तालमा डुबेपछि धेरैले यसलाई षडयन्त्रको रुपमा लिए। 

कतिले दरबार हत्याकाण्डकै श्रृंखलासँग पनि जोडे त्यो घटनालाई। तर भएको के हो? अझै रहस्य जस्तै छ त्यो घटना। दुर्घटना कि घटना? यसबारे हुने सार्वजनिक बहसमा यसलाई उही दरबार हत्याकाण्ड जस्तै रहस्यमय घटनाको रुपमै चर्चा हुन्छ। भएको के थियो? विश्वसनीय तथ्य आएन। छानबिन समिति पनि नबनेको हैन। तर पत्याइएन प्रतिवेदन।

ooo

२०७९ चैत ३०। घटनाको २१ वर्षपछि घटनास्थलमै पुग्ने मौका जुर्यो। उद्देश्य राराको मनोरम वातावरणमा रमाउने। तर पत्रकारको स्वभाव, जहाँ पुग्दा पनि केही समाचार पाइन्छ कि भन्ने लागिहाल्ने। रारा जाने योजना बन्दा मनमा त्यो हेलिकप्टर दुर्घटनाबारे रिपोर्टिङ गर्ने योजना थिएन। त्यही पुगेपछि मात्र याद आयो त्यो विवादित घटना।

कतै प्रत्यक्षदर्शी भेटिन्छन् कि भन्ने मनमा आश थियो नै। आश यथार्थ बन्यो। घटनाको प्रत्यक्षदर्शी मात्रै हैन घटना लगत्तै १५ मिनेटमै डुंगा लिएर तालमा उद्धार गर्न गएका व्यक्ति नै भेटिए।

ती हुन् राष्ट्रिय निकुञ्ज कर्मचारी बिर्खबहादुर रोकाया। निकुञ्जमा लामो समय काम गरेका उनी अहिले अवकाश जीवन बिताइरहेका छन्। उनी निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय। स्थानीयहरुमाझ उनी धामी बाका रुपमा समेत परिचित रहेछन्।

अर्का प्रत्यक्षदर्शी स्थानीय होटल सञ्चालक तथा पूर्व सांसद गोपाल बम। जो सेनाको ब्यारेक अनि राष्ट्रिय निकुञ्जसँगैको डाँफे लजका सञ्चालक पनि हुन्। यी दुवैले जे बताए। त्यो विवरण चलेका हल्लाभन्दा विल्कुल भिन्न थियो।

के हो घटना?

प्रेक्षा शाह ६ जनासहित फिस्टेल एअरको ९एनएएफपी एएस–३५० बी इक्युरियल हेलिकोप्टरमा घुम्न निस्किएकी थिइन्। हेलिकोप्टर चार्टर्ड फ्लाइटमा थियो। अधिराजकुमारी प्रेक्षासँगै हेलिकप्टरमा थिए नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल डा. ऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत।  हेलिकोप्टर क्याप्टेन रविन कडरियाको कमान्डमा थियो। 

पाइलटले हाइट लिन एक फन्को लगाएका मात्र थिए अचानक हेलिकोप्टर तालमा खस्यो। अनि डुब्यो। खत्री र शारदा सिंह जीवित भेटिए। प्रेक्षाको शव भेटियो। अन्य अहिलेसम्म गायबै छन्।

हेलिकोप्टरको पांग्रा लगायतका सामग्री भने राराको निकुञ्जमा छ अहिले पनि। तर इन्जिनसहितको मुल भाग भने तालभित्रै।

रारा दुर्घटनाको अनुसन्धानका लागि सरकारले बनाएको आयोगमा तत्कालीन सहन्यायाधिवक्ता कृष्णराम श्रेष्ठ संयोजक थिए। समितिमा नेपाली सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल खगेन्द्रबहादुर श्रेष्ठ, सेनाकै भीभीआईपी फ्लाइट इन्जिनियरिङ इन्चार्ज ओमप्रसाद श्रेष्ठ, सेनाका हेलिकोप्टर पाइलट सुधीर श्रेष्ठ, पर्यटन मन्त्रालयका उपसचिव उदयराज सापकोटा र नागरिक उड्डयन प्राधिकरणका चिफ पाइलट प्रभाकर घिमिरे सदस्य थिए। 

आयोगको प्रतिवेदनमा दुर्घटनाको कारण पाइलटको लापरबाहीलाई देखाइयो।

के भएको थियो त्यो दिन?

सार्वजनिक भएका विवरण र घटनाका दुई प्रत्यक्षदर्शीको भनाइमा एक समानता देखियो पाइलटको व्यवहार। घटनाको प्रकृति पनि फरक-फरक देखियो। 

यस अगाडि हेलिकप्टर सिधै तालमा खसेको अनि डुबेको दाबी गरिंदै आएको थियो। अनि प्रेक्षाको शव अहिलेसम्म फेला नपरेको दाबी गरियो। तर यी दुवै दाबी झुटो देखियो। प्रत्यक्षदर्शीका अनुसार तालमा हेलिकप्टर खस्नु अगाडि आकाशमै पड्किएको थियो।

हेलिकप्टर पड्किएपछि मात्र तालमा खसेको थियो। तालमा हेलिकप्टर खस्दा नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल डा. खत्री र शारदा सिंह तत्काल भेटिए। 

रारा राष्ट्रिय निकुञ्जका तत्कालीन कर्मचारी बिर्खबहादुर रोकाया घटनास्थलमा सबैभन्दा पहिला पुग्ने व्यक्ति रहेछन्। निकुञ्जको कार्यालय र प्रेक्षासहितको टोली हेलिकप्टरबाट ओर्लिएर बसेको सेनाको ब्यारेक नजिकै थियो।

‘राजपरिवारको सदस्यहरु आउनुभएको छ भन्ने सुनेको थिएँ। म कार्यालयमै थिएँ। पारस सरकार लगायतका आउँदा त भेट हुन्थ्यो। प्रेक्षा सरकारसँग भेट भएन,’ रोकायाले उकेरासँग भने, ‘कार्यालयमा बसिरहेकै बेलामा हेलिकप्टर उडेको देखियो। तालभन्दा अलिकति माथि गएको मात्र थियो आकाशमै पड्कियो।’

त्यो बेलामा सेना र निकुञ्जसँग मात्र डुंगा थियो। रोकाया निकुञ्जको काठको डुंगा लिएर दुर्घटना भएको ठाउँतिर गइहाले। उनले १५ मिनेटमै घटनास्थलमा पुगेको दाबी गरे। उनले गरेको दाबी घटनाका अर्का प्रत्यक्षदर्शी डाँफे लजका सञ्चालक गोपाल बमले पुष्टि गरे।

‘घटनास्थलमा काठको डुंगा लिएर सबैभन्दा पहिला पुग्ने बिर्खबहादुरै हुन्। त्यसपछि मात्रै अरू पुगेका थिए,’ उनले उकेरासँग भने।

रोकाया तालमा डुंगा लिएर जाँदा सेनाका खत्री तालमा आफैं पौडिरहेका थिए। उनी घटनास्थलबाट पौडिएर ३० मिटर वरसम्म आइपुगेका थिए।

उनले खत्रीलाई डुंगामा राखे। केही पर महिला देखिइन्। सिंह रहिछिन्। उनलाई तानेर किनारामा ल्याए। सिंह मुर्छित भएकी रहिछिन्। केही समयमा होस् आयो। हेलिकप्टरमा सवार अन्य कहाँ छन् पत्तो भएन। सेना पनि उद्धारमा खटिइसकेका थिए। करिब तीन घण्टाको खोजीमा प्रेक्षा देखिइन्। 

रोकायाका अनुसार डुंगामा राखेर तालको किनारमा ल्याए। उनको होस थिएन। टाउकोमा गम्भीर चोट लागेको थियो। सेनाको ब्यारेकमा भएकाले प्राथमिक उपचार सुरु गरे। तर उनको मृत्यु भइसकेको थियो।

‘प्रेक्षा सरकारको तालमै मृत्यु भइसकेको रहेछ। दुई जनाको जीवितै उद्धार भयो। बाँकी सबै हेलिकप्टरसँगै तालमै डुबे,’ रोकायाले भने। रोकायाका अनुसार प्रेक्षाको शव दुर्घटनाको दिन ब्यारेकमै राखेर भोलिपल्ट काठमाडौं लगियो। 

बमको गेष्ट हाउस पनि ब्यारेक अनि निकुञ्जको कार्यालय नजिकै। उनले पहिला निकुञ्जका कर्मचारीहरुलाई खाजा खुवाउन खोलेको क्यान्टिन पछि होटलको आकारमा लगेका थिए। डाँफे त्यो क्षेत्रको पहिलो गेष्ट हाउस। त्यसको आयु अब पाँच वर्ष मात्रै बाँकी रहेछ।

बमका अनुसार प्रेक्षासहितको टोली डोल्पा गएर रारा तालमा आएका थिए। हेलिकप्टरबाट ओर्लिए लगत्तै उनीहरुले ब्यारेक बाहिरै बसेर चिया र बिस्कुट मगाएर खाए। उनीहरु ब्यारेक भित्र समेत गएनन्। 

बाहिर बसेर केही समय रारा ताल हेरेपछि काठमाडौं फर्कन सबैजना हेलिकप्टर चढेका थिए। बमले चालक कडरियाले हेलिकप्टर चलाएको पटक-पटक हेरेका रहेछन्। उनले हेलिकप्टर उडाउँदा तालको पानी छुनेछुने गरेर घुमाउँथे रे। उनले त्यो दिन पनि अलिकति हाइट लिएपछि त्यसरी नै तालको पानी छुवाउने प्रयास गरेका थिए।

बमले प्रेक्षालाई हेलिकप्टरमा नबसी उभिएर झ्यालबाट बाहिर हेरिरहेको देखेका रहेछन्। हेलिकप्टर तालको पानीबाट केही माथि पुगे लगत्तै एक्कासि आकाशमै पड्किएको बम बताउँछन्। यसमा रोकायाले दिएको जानकारी मिल्यो।

‘एक्कासि हेलिकप्टरमा आगो लागेको देखियो। सामान उछिट्टिएको पनि देखिएको थियो। हेलिकप्टरको धेरै भाग तालमै पर्यो। अनि बिस्तारै डुब्दै हरायो। 

बम अनि रोकायाको अनुमानमा हेलिकप्टरको सिटमा नबसी जो जसले सिट बेल्ट बाँधेनन् उनीहरु बाहिर उछिट्टिए। शाह, सिंह अनि खत्रीको हकमा त्यही भएको उनीहरुको अनुमान छ। जो सिटमा बसे उनीहरु हेलिकप्टरको मुख्य भागसँगै तालमै डुबे।

दुर्घटनापछि हेलिकप्टर अनि हेलिकप्टरसँगै हराएकाहरु खोज्न बंगलादेशबाट गोताखोर समेत ल्याइएको रहेछ। रारा एक सय ६७ मिटर गहिरो। गोताखोरहरु ३० मिटरभन्दा तल जानै नसकेको दाबि गर्छन् दुवै। जति पटक प्रयास गरे पनि तालको पिंधसम्म जान नसकेपछि उनीहरु फर्किए। त्यसयता डुबेको हेलिकप्टरको अवशेष अनि हराइरहेकाहरु खोज्न कसैले कुनै पहल गरेका छैनन्।

उनीहरु दुवै हेलिकप्टर दुर्घटना प्राविधिक गडबडीले भएको दाबी गर्छन्।

‘अब हेलिकप्टर आकाशमा पड्किएको देख्ने हामी जीवितै छौं। दुर्घटनामा परेर बाँचेकाहरु अझै जीवितै छन्। प्रेक्षा सरकारको शव लगेको यही आँखाले देखेको हो,’ रोकायाले भने, ‘तर अहिले पनि एक्कासि हेलिकप्टर तालमा खसेको अनि प्रेक्षा सरकार अझै बेपत्ता भनेको सुन्दा रिसै उठ्छ।’

(मुगुबाट फर्किएर)

१ जेठ, २०८०, ०८:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।