नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डसँग किन रिसाए ओली!

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डसँग किन रिसाए ओली!

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूनिकट व्यक्तिविरुद्ध कारबाही प्रक्रिया रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफल सकारात्मक नभएपछि एमाले अध्यक्ष केपी शर्मा ओली अनुसन्धानलाई विवादमा तान्न सक्रिय देखिए।

मिडियामा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध जारी पक्राउ पूर्जीबारे ओली र प्रधानमन्त्रीबीच छलफल भएझैँ देखिए पनि ओलीको चासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई अनि आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यको संलग्नता थियो।

ओलीले पहिला रायमाझीविरुद्धको प्रमाण, कांग्रेसका नेताहरूको संलग्नता र प्रमाणबारे चासो राखे। प्रधानमन्त्री दाहालले पनि रायमाझी शरणार्थी प्रकरणमा संलग्न रहेको लेनदेनकै प्रमाण फेला परेको जानकारी दिए।

पहिलो भेटमा ओलीले एमालेका नेताविरुद्ध मात्र अनुसन्धान केन्द्रीकृत देखिएको भन्दै असन्तुष्टी जनाए। अन्य दलका नेता विशेषत: बालकृष्ण खाण, मन्जु खाणको भूमिकाबारे उनले चासो राखे।

प्रधानमन्त्रीले छानबिनमा भेदभाव नहुने आश्वासन दिएपछि बाहिरिएका ओलीले मिडियामा एमाले लक्षित कारबाही भइरहेको भन्दै रायमाझीविरुद्ध जारी भएको पक्राउ पुर्जीप्रति असन्तुष्टी जनाए।

दोस्रो भेटमा एकाएक ओली रायमाझीभन्दा तत्कालीन सचिव प्रेम राई र आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यबारे केन्द्रित भए। प्रचण्डले डा. ईन्द्रजित राई र प्रेम राईको संलग्नता अनि राजेशको भूमिकाबारे गृहमन्त्री श्रेष्ठबाट आएको ब्रिफिङ सुनाए।

अनुसन्धानबारे चासो राख्दा प्रधानमन्त्री प्रचण्डले अब यो सरकारको मात्र चासोको विषय नभएको भन्दै अमेरिकी पक्षको चासोको संकेत दिएपछि ओली रिसाउँदै बाहिरिए। उनले मिडियालाई पनि छोटो-छोटो प्रतिक्रिया दिएर हिँडे।

दोस्रो भेटमा प्रधानमन्त्रीले गृहमन्त्रीलाई नै भेट्न पठाउने वचन दिएका थिए। वचन अनुसार गृहमन्त्री श्रेष्ठ ओली भेट्न गए। ओलीसँगै एमाले नेताहरू शंकर पोखरेल लगायतका कोर टिम नै थिए।

गृहमन्त्रीले अनुसन्धानमा पक्राउ परेकाहरू, संलग्न देखिएका अनि प्रमाणबारे जानकारी दिए। छलफल अख्तियारका प्रमुख आयुक्त रहेका राई, बज्राचार्यसँगै आरजु राणा देउवा अनि मन्जु खाँण केन्द्रित भएको थियो।

भेटमा ओलीले के गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। त्यसको जवाफमा गृहमन्त्री श्रेष्ठले खुलेको प्रमाण अनुसार अनुसन्धान र मुद्दा प्रक्रियामा जानै पर्ने अनि सरकारले मात्र चाहेर कसैलाई दोषी या निर्दोष भन्नसक्ने अवस्था नभएको जवाफ दिए।

गृहमन्त्रीसँगको छलफल पनि सकारात्मक नभएपछि एमाले अध्यक्ष ओली अनुसन्धानलाई विवादित बनाउँदै कांग्रेस नेताहरूलाई जोगाउने र एमाले नेताहरूलाई फसाउन खोजेको सन्देश दिने रणनीतिमा लागे।

लगत्तै आरजु र मन्जुले पनि पैसा लिएको दाबी गरिएको अडियो बाहिरियो। अडियो आए लगत्तै कांग्रेस संस्थापक समूहमा भुईँचालो नै गयो। प्रारम्भमा अडियो नै नक्कली भएको दाबी गरियो। तर अडियो नक्कली थिएन। त्यसले क्षति रोक्न सकेन।

आरजुले संसदमा भ्रष्टाचारविरुद्धको अभिव्यक्ति दिइन्। मन्जु मौन बसिन्। उनी प्रेस काउन्सिलतिर लागिन् अडियो नक्कली भएको दाबी गर्दै। तर कसरी अडियो नक्कली सो खुलाउन सकेकी छैनन्।

कांग्रेस नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरीमा दबाब बढ्यो। तर, लेनदेनको पन्तका प्रमाण नभेटिएको भन्दै सोधपुछका लागि समेत बोलाइएको छैन।

रायमाझी पक्राउ गर्न सर्कुलरसँगै उनको घरमा प्रहरीले मंगलबार खानतलासी समेत लियो। मंगलबारै एमाले अध्यक्ष ओलीले पुन: प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाउँदै आक्रामक अभिव्यक्ति दिए।

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको पहिलो बैठकमा उनले भने- ‘भ्रष्टाचार एमालेले सहँदैन। तर एमालेविरुद्ध यसलाई पनि तान, उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन।’

ओलीले प्रधानमन्त्री दाहाल भ्रष्टहरूलाई जोगाउने र अनावश्यक मानिसलाई पोल्ने काम गर्न सक्रिय रहेको आरोप लगाए।

‘मैले समयमै प्रधानमन्त्रीलाई भनेको छु निर्दोषलाई फसाउने कोसिस नहोस्, कोही पनि भ्रष्ट नजोगिउन्’, उनले भने।

२६ बैशाख, २०८०, १९:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।