टोपबहादुरको घरमा प्रहरी छापा, मन्जु लगायतको संलग्नताबारे प्रहरी अनुसन्धानमै

टोपबहादुरको घरमा प्रहरी छापा, मन्जु लगायतको संलग्नताबारे प्रहरी अनुसन्धानमै

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी लिएको छ।

रायमाझीको सातदोबाटोमा रहेको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खानतलासी लिएको हो। 

शरणार्थी बनाउने भन्दै पैसा उठाउने समूहबाट रायमाझी र उनको छोराले पैसा लिएको प्रमाणको आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गर्न अनुमति आएपछि रायमाझी फरार छन्।

उनको छोरा भने प्रहरी हिरासतमा छन्। उनी आफैँ प्रहरीमा आउने दाबी गरे पनि फरार भएपछि प्रहरी सामान्य खोजीमा लाग्यो। तर, उनी फेला परेनन्।

रायमाझी पक्राउ नपरेकोमा आलोचना बढेपछि प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि परिपत्र गर्यो। अनि मंगलबार उनको घरमा खानतलासी लियो।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक पनि फरार छन्। उनी पनि पक्राउ परेका छैनन्।

नक्कली शरणार्थी प्रकरणमा अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाँण, उनको श्रीमती तथा सांसद मन्जु खाण, कांग्रेस सांसद आरजु राणा देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, कांग्रेस सांसद रामहरी खतिवडा लगायतपनि संलग्न रहेको आरोप लागेको छ।

प्रहरीले उनीहरूको संलग्नताबारे छानविन भइरहेको तर लेनदेन प्रमाण फेला नपरेकाले पक्राउ आदेश जारी गराउने प्रक्रियामा नगएको दाबी गरिरहेको छ।

२६ बैशाख, २०८०, १५:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।