पढ्न शहर आएकी थिइन्, तर ११ वर्षकै उमेरमा बलात्कारको शिकार भइन्

पढ्न शहर आएकी थिइन्, तर ११ वर्षकै उमेरमा बलात्कारको शिकार भइन्

सुर्खेत : २ वर्षअघि गाउँबाट पढ्न ९ वर्षीया बालिका सुर्खेतको वीरेन्द्रनगर झरिन्। उनी दिदीको डेरामा बस्न थालिन्।

बुवाआमा र दाजुभाइ आमाको उपचार गर्न भारत गएपछि उनको पढाइ बिथोलिएको थियो। तर पढाइलाई निरन्तरता दिन पाउने आशमा वीरेन्द्रनगर आएकी थिइन् उनी। 

दुर्गम जाजरकोटमा कक्षा ४ पढ्दै थिइन् उनी। साइँली दिदी वीरेन्द्रनगरमा कोठा भाडा लिएर आफ्ना बालबच्चा पढाइरहेकी थिइन्। दिदीले आइज न त भनेपछि उनी झरिन्, कक्षा ५ मा भर्ना भइन्।

तर यौन पिपासुको नजर पर्दा उनको पढाइ मात्रै हैन जीवनै अँध्यारो भयो। साउन महिनामा दिदीकै कोठामा बलात्कृत भइन् उनी। अभियोग लाग्यो स्थानीय मनन सापकोटामाथि।

‘आमाको उपचार गर्ने भनेर बुवा र दाजुहरू भारत गए। भएका दिदीहरूको पनि विवाह भइसक्यो। गाउँमा ४ कक्षामा पढ्थें,’पीडित किशोरीले उकेरासँग भनिन्, ‘गाउँमा पढाइ बिग्रन्छ, दिदीसँग बसेर पढ्छु भनेर आएँ। तर यहाँ त के-के पो भयो।'

उनकी आमालाई शरीर र खुट्टा सुन्निने बिरामी छ। डेढ वर्षदेखि तीनै जना भारतमा छन्। उनका ६० वर्षीय बुवा भारतमा काम गर्दै आमाको उपचारमा लागेका छन्। दैनिक ज्यालादारी काम गरेर कमाएको पैसाले उपचार गर्छन्। पीडित किशोरीका २ दाई पनि भारतमै छन्। तीनै जनाको कमाई ५५ वर्षीया आमाको उपचारमा ठिक्क हुन्छ। 

गाउँमा गाई, भैँसी पाल्ने र खेती गर्थे किशोरीका बुबा। एकाएक आमा बिरामी भएपछि सबै भारत लागे। उनी शहर झरिन्। ४ भाई, ४ बहिनीमध्येकी कान्छी हुन् उनी। 

जेठी दिदीको २ वर्षकै उमेरमै दादुराका कारण मृत्यु भयो। अरू ८ भाइबहिनी पनि कक्षा ९ भन्दा बढी कसैले पढ्न पाएनन्।  

उनका दिदीहरूले त विद्यालयसमेत देखेनन्। ठूलो परिवार, गाउँको बसाइ अनि आर्थिक अवस्था कमजोर भएकाले पनि उनीहरूलाई पालनपोषण गर्न बुवाआमालाई हम्मेहम्मे हुन्थ्यो। 

कान्छी बहिनीले पढेर सरकारी जागिर खाओस् भन्ने दिदी र दाजुहरूको चाहना थियो। 

केही वर्षअघि वैदेशिक रोजगारीका लागि ठूल्दाई मलेसिया गए। गएको ६ महिनामै खुट्टा भाँचिएपछि उनी गाउँ नै फर्किनुपर्यो। मलेसिया गएको ऋणसमेत तिर्न सकेका छैनन् किशोरीका दाजुले। 

खुट्टामा हालेका रडसमेत निकाल्न सकेका छैनन् उनले। अहिले उनी बुवासँगै भारतमा मजदुरी गरेर बिरामी आमाको उपचारमा लागिपरेका छन्। 

साइँला दाजु पनि भारतमै आमाबुवासँग छन्। 'महिनामा ५०-६० हजार रूपैयाँ आमाको उपचारमा मात्रै खर्च हुन्छ,' पीडित किशोरीले दुःख सुनाइन्, 'माइला दाइ पनि विदेश जाने तयारीमा हुनुहुन्छ।' उनका कान्छा दाजु भने वीरेन्द्रनगरमा खाजा पसलमा काम गर्छन्। 

'आमाको उपचार गर्न दाइ र भाइ विदेश गएपछि यसको (पीडित किशोरी) पढाइ राम्रो होस् भनेर घर सल्लाहमा वीरेन्द्रनगर ल्यायौँ,' दिदीले भनिन्, ‘घरकी कान्छी बहिनी। हामी चारमध्ये अरू कोही बहिनीले पनि स्कुल देख्न पाएनन्। दाई र भाइले त कसैले ४ पढे, कसैले ९ कक्षासम्म पढे।'

पीडितकी दिदीले भनिन्, ‘उसको आर्मी, प्रहरी बन्ने सोच थियो। यस्तो घटना भएपछि उसको मनस्थिति नै बिग्रिएको छ।’

दिदीका श्रीमान् पनि वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन्। उनका एक छोरा र दुई छोरी छन्। 'उनीहरूको पनि हेरविचार होला, बहिनी पनि पढ्ली भनेर शहर ल्याएको,' दिदीले बताइन्।

तर दिदी कोठामा नभएको बेला बहिनी बलात्कृत भइन्।

किशोरीलाई बलात्कार गरेको अभियोग लाग्यो वीरेन्द्रनगर-१२ कै २१ वर्षीय मनन सापकोटालाई। ८ महिना लुकेका उनी एकाएक चैतमा पक्राउ परे। चैत २२ मा अदालतबाट उनी एक लाख रूपैयाँ धरौटीमा छुटिसके। मननको साथमा गएका २३ वर्षीय कृष्ण रिजाललाई पनि मतियार भएको भन्दै २०७९ भदौ २२ मा ४५ हजार धरौटीमा जिल्ला अदालत सुर्खेतले धरौटीमा छोडेको थियो। 

पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार भएका प्रमाण उल्लेख छन्। प्रहरीमा दिएको जाहेरी अनि बयानमा जाहेरीकर्ता र पीडितले सबै घटना खुलाए।

तर अदालतमा बयान बदलियो। बयान बदलिने कारण बन्यो तीन लाखको प्रलोभन। किशोरीसँग अभियुक्तले विवाह गर्ने अनि पढाइ निरन्तर हुने लोभ देखाएका थिए। 

लेनदेनको प्रभावमा पीडितलाई 'होस्टायल' बनाएको प्रमाण उनको दिदीसँग तीन लाख लिएको अभियुक्तको परिवारका सदस्यले बनाएको लेनदेनको कागज नै सार्वजनिक भएको छ। 

कागज बनेपछि अदालतमा पीडितको बयान बदलिएको हो। अदालतबाट अभियुक्त धरौटीमा छुटे। अभियुक्तपक्षले न पीडितको पढाइको जिम्मा लिए न तीन लाख नै दिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको थियो। 

१४ बैशाख, २०८०, १८:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।