नेपालले बनायो आफ्नो एकदिवसीय इतिहासकै उच्च योगफल, ओमनलाई ३११ रनको विशाल लक्ष्य

नेपालले बनायो आफ्नो एकदिवसीय इतिहासकै उच्च योगफल, ओमनलाई ३११ रनको विशाल लक्ष्य

काठमाडौं : कुशल मल्लको शतकको मद्दतले एसीसी प्रिमियर कपमा नेपाले ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ।

कुशलसँगै सोमपाल कामीले विष्फोटक अर्धशतक प्रहार गर्दा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो।

यो नेपालले आफ्नो एकदिवसीय इतिहासमै हालसम्म बनाएको उच्च योगफल हो। 

यसअघि नेपालले एकदिवसीय खेलमा उच्च पीएनजीविरुद्ध टियु मैदानमा नै सर्वाधिक २९७ रन बनाएको थियो।

आज टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको सुरुवात भने निकै खराब भयो। ४ ओभर भित्र एक रन पनि नजोड्दै नेपालका दुवै ओपनर गुमाएको थियो।

तेस्रो ओभरमा कुशल भुर्तेल आठ बल खेलेर आउँट हुँदा अर्को ओभरमा आसिफ शेख पनि शून्य रनमा बोल्ड आउट भएका थिए।

नेपालले २७ बल खेल्दासम्म एक रन पनि जोड्न सकेको थिएन। यसपछि २८ औं बल (४.४ ओभर) नेपालले पहिलो रन जोडेको थियो। 

आफ्नो ५० औं एकदिवसीय खेलमा निकै खराब सुरुवात गरेको नेपालका कप्तान रोहित पौडेल पनि २३ रनमै आउट भएका थिए। यस्तै भीम सार्की ३३ रनमा आउट भए।

निकै खराब सुरुवात गरेको नेपालले कुनैबेला २१ औं ओभरमा मात्र ७२ रनमा चार विकेट गुमाइसकेको थियो।

तर यसपछि सानदार ब्याटिङ अलराउन्डर कुशलले मात्र ५९ बलमा ९ चौका र ९ छक्कासहित शतक पूरा गरे। उनले नेपालबाट एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने रेकर्ड बनाए।

यसअघि कप्तान रोहित पौडेलले सन् २०२२ मा पीएनजीविरुद्ध ९१ बलमा सर्वाधिक छिटो शतक बनाएका थिए। जुन रेकर्ड कुशलले तोडेका हुन्।

कुशलको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो। एकदिवसीय क्रिकेटमा नेपालबाट शतक हान्ने उनी छैटौं खेलाडी बनेका छन्।

यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालका लागि शतक प्रहार गरिसकेका छन्।

कुशल ६४ बलमा ९ चौका र १० छक्कासहित १०८ रन जोड्दै आउट भए। कुशलकै सानदार ब्याटिङले नेपालको इनिङ जोगियो भने सोमपालको ब्याटिङले नेपालले कीर्तिमान रन बनायो।

उनले आरिफ सेखसँग मिलेर पाँचौ विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। आरिफले ३३ रन जोडे। 

यसपछि नेपालका फास्ट बलर सोमपाल कामीले अर्को आक्रामक इनिङ खेले। अर्धशतकीय पारी खेलेका उनले ४८ बलमा ९ चौकाको सहयोगमा अविजित ६३ रनको योगदान दिए।

त्यसैगरी करण केसीले मात्र १५ बलमा २९ रन जोडेका थिए।

८ बैशाख, २०८०, १२:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।