विष्फोटक ब्याटिङ गर्दै कुशलले बनाए ५९ बलमा शतक, रोहितको रेकर्ड तोडियो

विष्फोटक ब्याटिङ गर्दै कुशलले बनाए ५९ बलमा शतक, रोहितको रेकर्ड तोडियो

काठमाडौं : कुशल मल्लले एसीसी प्रिमियर कपमा ओमानविरुद्ध विष्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका छन्।

नेपालका अलराउन्डर कुशलले मात्र ५९ बलमा ९ चौका र ९ छक्कासहित शतक पूरा गरेका हुन्। यससँगै उनले नेपालबाट एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने रेकर्ड बनाएका छन्।

यसअघि कप्तान रोहित पौडेलले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध ९१ बलमा सर्वाधिक छिटो शतक बनाएका थिए। जुन रेकर्ड कुशलले तोडेका हुन्।

कुशलको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो। एकदिवसीय क्रिकेटमा नेपालबाट शतक हान्ने उनी छैटौं खेलाडी बनेका छन्।

यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालका लागि शतक प्रहार गरिसकेका छन्।

कुशल ६४ बलमा ९ चौका र १० छक्कासहित १०८ रन जोड्दै आउट भए। निकै खराब सुरुवात गरेको नेपालले कुनैबेला  २१ औं ओभरमा मात्र ७२ रनमा चार विकेट गुमाइसकेको थियो।

तर कुशलकै सानदार ब्याटिङले नेपालको इनिङ जोगियो।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ ओभर भित्र एक रन पनि नजोड्दै दुवै ओपनर गुमाएको थियो।

तेस्रो ओभरमा कुशल भुर्तेल आठ बल खेलेर आउँट हुँदा अर्को ओभरमा आसिफ शेख पनि शून्य रनमा बोल्डआउट भएका थिए।

नेपालले २७ बल खेल्दासम्म एक रन पनि जोड्न सकेको थिएन। यसपछि २८ औं बल (४.४ ओभर) नेपालले पहिलो रन जोडेको थियो। 

आफ्नो ५० औं एकदिवसीय खेलमा निकै खराब सुरुवात गरेको नेपालका कप्तान रोहित पौडेल पनि २३ रनमै आउट भएका थिए।

८ बैशाख, २०८०, १२:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।