देउवा-शेखर समूहबाट ६ मन्त्रीको नाम टुङ्गो लाग्दा प्रदीप परेनन्, शशाङ्क-प्रकाशमानबाट नाम आउन बाँकी

देउवा-शेखर समूहबाट ६ मन्त्रीको नाम टुङ्गो लाग्दा प्रदीप परेनन्, शशाङ्क-प्रकाशमानबाट नाम आउन बाँकी

काठमाडौँ :  नेपाली काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीबाट पठाउने आठमध्ये ६ जनाको नाम टुङ्ग्याएको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले संस्थापन र संस्थापन इतर समूहबाट सरकारमा जानेहरूको नाम टुङ्ग्याए पनि प्रकाशमान सिंह र शशाङ्क कोइराला गुटबाट नाम आउन बाँकी छ।

बैठकले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उपसभापति धनराज गुरुङ, डा. प्रकाश शरण महत, एनपी सावद, सिता गुरुङ, र डिकबहादुर लिम्बूको नाम तय गरेको हो।

मन्त्रीहरूको नाम टुङ्गिएसँगै प्रदीप पौडेल मन्त्री हुने सम्भावना टरेको छ। उनी कृष्ण सिटौला समूह हुँदै पार्टीको संसदीय दलको नेताको निर्वाचनमा गगन थापा समूहमा पुगेका थिए। उनको नाम स्वास्थ्य मन्त्रीको रुपमा चर्चामा थियो।

अर्का नेता मोहन बस्नेत पनि यस पटक मन्त्री बन्न सकेनन्। बागमतीबाट उनी मन्त्री बन्ने प्रयासमा थिए। उनी पार्टी सभापति शेरबहादुर निकट नेता हुन्।

मन्त्रीहरूको नाम टुङ्गो लागे पनि अझै मन्त्रालय भने टुङ्गिएको छैन। काँग्रेस परराष्ट्र, रक्षा, अर्थ, स्वास्थ्य लगायतका आठ मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो।

उता एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालाको नाम टुङ्गो लगाएको छ। तर जनता समाजवादी पार्टी लगायतका दलबाट अझै मन्त्री हुनेहरूको नाम आएको छैन। लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारीको नाम आएको छ।

१६ चैत, २०७९, १७:१३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।