म्यानमारमा सेनाद्वारा ४० दलको वैधानिकता खारेज, सुकीको दलले निर्वाचनमा सहभागी हुन नपाउने

म्यानमारमा सेनाद्वारा ४० दलको वैधानिकता खारेज, सुकीको दलले निर्वाचनमा सहभागी हुन नपाउने

एजेन्सी : अमेरिकाले म्यानमारका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरेकोमा म्यानमारको सैनिक सरकारको निन्दा गरेको छ।

यी दलहरूमा नोबेल शान्ति पुरस्कार पाएको आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी पनि परेको छ।

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको निर्वाचन कानून अन्तर्गत पुनः दर्ता नभएको भन्दै वैधानिकता समाप्ता गर्ने निर्णय गरेको थियो।

अमेरिकी विदेश विभागका प्रवक्ता वेदान्त पटेलले भने, ‘हामी बर्माको सेनाले नेशनल लिग फर डेमोक्रेसी सहित ४० राजनीतिक दल भंग गर्ने निर्णयको कडा शब्दमा निन्दा गर्दछौं।’

सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेपछि अहिले सैन्य शक्ति पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ। सैन्य शक्तिका आलोचकहरूका अनुसार यी चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो।

अमेरिकाले भनेको छ, ‘बर्मामा कुनै पनि चुनाव सबै सरोकारवालाहरूको सहभागिताविना स्वतन्त्र वा निश्पक्ष मानिने छैन र सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै, चुनाव गराउने एकपक्षीय निर्णयले अस्थिरता बढाउने सम्भावना छ।’

म्यानमारको आलोचना गर्दा अमेरिकाले आफ्नो पुरानो नाम बर्मा प्रयोग गरेको छ।

१६ चैत, २०७९, १०:१५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।