ज्ञानेन्द्र शाहीमाथि भएको दुर्व्यवहारबारे बोले लिङ्देन, सोधे- सरकार मुठभेडतर्फ जान खोजेको हो?

ज्ञानेन्द्र शाहीमाथि भएको दुर्व्यवहारबारे बोले लिङ्देन, सोधे- सरकार मुठभेडतर्फ जान खोजेको हो?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई कि छैन भन्दै प्रश्न गरेका छन्।

बुधबार संसदमा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई मिटरब्याजी पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा दुर्व्यवहार भएको भन्दै भर्त्सनासमेत गरे।

प्रमुख सचेतक शाही मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका बेला प्रदर्शनकारीले अवरोध गरेका थिए।

शाहीलाई मिटरब्याजी पीडितले नारा जुलुस गरेर धर्नास्थलमा प्रवेश गर्न रोक लगाएका थिए। प्रदर्शनकारीको सो कार्यको विरोध गर्दै अध्यक्ष लिङ्देनले सत्तापक्षीय कार्यकर्ताबाट अवरोध भएको आरोप लगाएका छन्।

‘मिटरब्याजीबाट पीडित नागरिकहरू १३ दिन पैदल हिँडेर काठमाडौं आएपछि जिम्मेवार दलको जिम्मेवार नेता पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास भयो त्यसको घोर निन्दा र भ्रत्सना गर्दछु,’ लिङ्देनले भने।

उनले अगाडि थपे, ‘सरकारसँग प्रश्न गर्न चाहन्छु। के सरकार मुठभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने कुनै नागरिकलाई छुट छैन?’

सरकारले मिटरब्याजी पीडितलाई तत्काल न्याय दिन लिङ्देनले माग गरे। उनीहरूलाई न्याय दिने सवालमा कतैबाट अलमल्याउने काम नगर्न समेत उनले चेतावनी दिए।

१५ चैत, २०७९, १४:२९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।