पहिले बागमती सभ्यता जोगाउँ अनि लिपुलेक र लिम्पियाधुरा पनि जोगाउँला : मेयर बालेन

पहिले बागमती सभ्यता जोगाउँ अनि लिपुलेक र लिम्पियाधुरा पनि जोगाउँला : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले  बागमती सभ्यताहरूको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्।

बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,’ उनले भने, ‘हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छेभन्दा अघिको सभ्यता हो।’

यस्तै शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गरेका छन्।

सम्मेलनमा बोल्दै मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरू धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका हुन्।

‘हाम्रो स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,’ बालेनले भने, ‘जस्तो अहिले सम्माननीयज्यू यहिँ हुनुहुन्छ, मन्त्रीज्यू यहिँ हुनुहुन्छ। उहाँहरूको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ। केही समयलाई सरकार टिकिदिए पनि हामीलाई समन्वय गर्न सजिलो हुन्छ।’

त्यस्तै उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उप-प्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन भनेका छन्। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन्।

‘साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका-पालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस्,’ कार्यक्रममा बोल्दै मेयर शाहले भने, ‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस्। आफ्नै पालिकामा यस्तो न्यायहरू समाधान होस्। यसका लागि तपाईंहरू जिम्मेवार पनि हुनुहुन्छ।’

१५ चैत, २०७९, १४:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।