वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जनले भने' म युवा भए पनि खारिएको छु, अब महासङ्घमा मेरै नेतृत्व'

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जनले भने' म युवा भए पनि खारिएको छु, अब महासङ्घमा मेरै नेतृत्व'

कपिलवस्तु : नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले महासङ्घमा गरेको योगदानको आधारमा अब नेतृत्व गर्ने पालो आफ्नो भएको बताएका छन्।

'म युवा भए पनि महासङ्घमा मेरो संस्थागत संलग्नता लामो समय भयो। यसले मलाई परिपक्व बनाएको छ,' लुम्बिनीमा आयोजित कार्यक्रममा उनले भने' त्यही अनुभवको आधारमा मैले नेतृत्वमा दाबी गरेको हुँ।'

उनले कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताउँदै यसमा सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्नेमा जोड समेत दिएका थिए।  

सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धराशायी हुँदा पुँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए।

बैङ्कले उद्योगीहरूसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग समेत गरेका थिए।

'उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाइने भन्दै दसकौँ पुरानो कालोबजारी ऐन कानुन लागु गरेर दुख दिइन्छ, तर बैङ्कले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्' उनले भने।

आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै उनले पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको बताएका थिए।

कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले निजी क्षेत्रको माग र समस्यालाई सम्बोधन गर्न र आन्दोलनको रूपमा अगाडि बढाउन श्रेष्ठको नेतृत्व आवश्यक भएको बताएका थिए।

१४ चैत, २०७९, २३:४३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।