नेपालको प्रदर्शन पहिलाजस्तो उत्कृष्ट छैन : भुटानी प्रशिक्षक पेमा

नेपालको प्रदर्शन पहिलाजस्तो उत्कृष्ट छैन : भुटानी प्रशिक्षक पेमा

काठमाडौं : भुटानको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक पेमा पेमाले नेपालको प्रदर्शन पहिलाको जस्तो उत्कृष्ट नभएको बताएका छन्।

नेपालसँग बराबरी खेलेपछिको पोस्टम्याच कन्फेरेन्समा प्रशिक्षक पेमाले यस्तो बताएका हुन्।

उनले भने, ‘नयाँ प्रशिक्षक र आधा भन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भएकाले नेपालका प्रदर्शन पहिलाजस्तो उत्कृष्ट छैन।’

मुख्य प्रशिक्षक पेमाले इतिहासमा पहिलो पटक नेपालसँग बराबरीको नतिजा निकालेसँगै शिर उँचो पारेर घर फर्किने बताए।

‘जिति सकेका थियौं। अन्तिम समयमा गोल खाँदा नराम्रो लाग्यो। नेपाललाई हराएको भए फाइनल पुग्थ्यौं,’ उनले भने, ‘त्यही पनि इतिहासमा पहिलो पटक नेपाललाई बराबरीमा रोकेकोमा खुसी छौं। शिर उँचो पारेर घर फर्किनेछौं।’

यसअघि, भुटानसँग खेलेका १२ खेलमा नेपालले शत प्रतिशत जित निकालेको थियो। भुटानविरूद्ध अपराजित रहेको नेपमलले पहिलो पटक भुटानसँग बराबरी खेलेको हो।

प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरूद्ध १–० गोलको अग्रता बनाएको भुटानले ९०औं मिनेटमा नेपालका दीपकराज सिंह ठकुरीले गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए।

भुटानसँगको संघर्षपूर्ण बराबरीसँगै नेपालले फाइनलमा चैत्र १७ गते लाओसको सामना गर्नेछ।

१४ चैत, २०७९, २१:३७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।