प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदा मुख थुनिएका तीन जना धरौटीमा रिहा

प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदा मुख थुनिएका तीन जना धरौटीमा रिहा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि जेल चलान भएका तीन जना धराैटी बुझाएर रिहा भएका छन्।

चैत ७ मा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा नाराबाजी गरेपछि पक्राउ परेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटी बुझाएर मंगलबार रिहा भएका हुन्।

उनीहरूलाई अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ गते ५ हजार धरौटी तोकेका थिए। धरौटी जम्मा गर्न नसकेपछि तीनै जनालाई केन्द्रीय कारागार चलान गरिएको थियो।

मंगलबार धरौटी बुझाएपछि उनीहरूलाई रिहा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

उनीहरूलाई पक्राउ गर्दा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो।

१४ चैत, २०७९, १४:२८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।