अपराजित रहँदै एपीएफ क्लब ललितपुर मेयर कपको फाइनलमा

अपराजित रहँदै एपीएफ क्लब ललितपुर मेयर कपको फाइनलमा

काठमाडौ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गर्यो। ​​​​​

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो।

एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाएका थिए। 

जवाफमा १११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रनमा समेटियो।

ललितपुर मेयर्सलाई सस्तैमा रोक्न बलिङतर्फ एपीएफ क्लबकी राजमती ऐरी र बिनु बुढाले दुई/दुई तथा इन्दु बर्मा, सीता राना मगर र शुष्मा श्रेष्ठले एक/एक विकेट लिएका थिए।

एपीएफले लिग चरणका चारवटै खेल जितेर शीर्षस्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको हो। आयोजक ललितपुर मेयर्सले भने लिग चरणका चारवटै खेलमा जित निकाल्न सकेन।

१४ चैत, २०७९, १४:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।