अन्य सरकारी अस्पतालका सीटी स्क्यान मेसिन बिग्रँदा चाप जति वीरलाई

अन्य सरकारी अस्पतालका सीटी स्क्यान मेसिन बिग्रँदा चाप जति वीरलाई

काठमाडौं : गत बिहीबार करिब साँझ सात बजे उकेराकर्मी वीर अस्पताल पुग्दा सीटी स्क्यान गर्ने बिरामीको चाप बाक्लै थियो। अस्पतालको कोठा नं. ११५ मा कर्मचारीहरुलाई बिरामीको सीटी स्क्यान गर्न भ्याइ-नभ्याइ देखिन्थ्यो। 

राष्ट्रिय ट्रमा सेन्टर, निजामति कर्मचारी अस्पताल, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालमा सीटी स्क्यान बिग्रिएकाले त्यो दिन वीर अस्पतालमा सीटी स्क्यान गर्ने बिरामीको बढी चाप परेका रहेछ। 

वीरमा सीटी स्क्यान गर्न खटिएका एक कर्मचारीले बिहीबार साँझसम्ममा ६९ जना बिरामीको सीटी स्क्यान गरेको बताए।

यसपछि करिब आठ बजे नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टर पुग्दा सीटी स्क्यान गर्ने कोठा खुला थियो भने कोठाभित्र एक जना पनि कर्मचारी थिएनन्। 

बन्द कोठामा नचलेको सीटी स्क्यान मेसिन देखिन्थ्यो। सीटी स्क्यान गर्न पुग्ने बिरामी भने कोही पनि देखिंदैन थिए। यूपीएस बिग्रिएकाले सीटी स्क्यान नचलेको रहेछ।

अनौपचारिक कुराकानीको क्रममा ट्रमा सेन्टरका एक कर्मचारीले भने, ‘सीटीको त्यो यूपीएस नै ड्यामेज भयो। ५/७ वटा बोर्ड एकैचोटी उडेको रहेछ।’  

प्राविधिकले यूपीएस बन्दैन भनेर रिपोर्ट दिएकाले नयाँ किन्नुपर्ने अवस्था भएको ती कर्मचारीले जानकारी दिए। त्यो यूपीएस नेपालमा नै पाइने सामान्य किसिमको थियो।

ट्रमा सेन्टर स्रोतका अनुसार सीटी स्क्यानसँगै आएको त्यो यूपीएस पहिलो पटक बिग्रिएको हो। यसपछि गत आइतबार दिउँसो ट्रमा सेन्टरमा पुग्दा भने सीटी स्क्यान मेसिन चलेको देखियो। शुक्रबारदेखि नै सो सीटी स्क्यान मेसिन चलेको थियो।

ट्रमा सेन्टरकी रेडियोलोजी विभाग प्रमुख डा. ममता भट्टराईले बिग्रिएको एक हप्तामा सीटी स्क्यान बनिसकेको भए पनि कुन दिन बनेको हो भन्ने यकिन याद नभएको जानकारी दिइन्।

सीटीको यूपीएस बिग्रिएकाले फेरेपछि चलेको तर कति खर्च भयो भन्ने विषयमा भने जानकारी नभएको उनले बताइन्।

ट्रमा सेन्टरमा दैनिक २० देखि ३५ जनासम्मको सीटी स्क्यान हुने गरेको छ। तर ट्रमा जस्तै अन्य सरकारी अस्पतालहरुमा सीटी स्क्यान मेसिन बिग्रँदा वीर अस्पतालमा त्यसको चाप धान्नै गाह्रो परको रेडियोलोजी विभाग प्रमुख डा. सरोज शर्माले बताए। 

‘ट्रमा सेन्टरमा बिग्रिएको दिन रातभरी एकछिन पनि नरोकी ९१ जनाको सीटी भएछ,’ उनले भने। वीर अस्पतालमा हाल २४ घण्टा नै सीटी स्क्यान हुने गरेको उनले बताए।

निजामतिको सीटी स्क्यान कहिले बन्छ?

गत बिहीबार नै राति करिब नौ बजे ट्रमा सेन्टरपछि निजामति कर्मचारी (सिभिल) अस्पतालको सीटीको स्थिति बुझ्न पुग्दा त्यहाँको पनि सीटी स्क्यान मेसिन बिग्रिएको थाहा भयो। 

अस्पतालको सीटी स्क्यानको कोठामा पुग्दा दुई जना कर्मचारी भेटिए। कोठामा छिर्ने बाहिरपट्टिको ढोकामा सीटी स्क्यान बन्द रहेको सूचना टाँसिएको थियो।

सूचनामा लेखिएको थियो,‘यस अस्पतालको सीटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएको कारण अर्को सूचना जारी नभएसम्मका लागि सीटी स्क्यान सम्बन्धी सम्पूर्ण सेवाहरु बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’

त्यहाँ रहेका कर्मचारीले फागुन ११ गते दिउँसो २ बजेदेखी पानी पसेर यूपीएस बिग्रिएकाले सीटी स्क्यान मेसिन नचलेको बताए। 

२५६ स्लाइसको सो सीटी जीई कम्पनीको हो। सीटी स्क्यानको बिग्रिएको यूपीएस नयाँ किन्नुपर्ने वा पुरानै बन्छ भन्ने प्राविधिक जाँचका क्रममा नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। 

‘कम्पनीको सामान हो। मर्मत हुन्छ की हुँदैन भनेर सामान इन्डिया पठाएको छ। इन्डियाबाट रिर्पोट आएको छैन,’ स्रोतले भन्यो।

मेसिनको वारेन्टी कै समय भए पनि अस्पतालकै तर्फबाट भएको त्रुटीका कारण बिग्रिएको देखिएकाले अस्पतालले नै बनाउने वा नयाँ किन्ने खर्च बेहोर्नुपर्ने सप्लायर्सले अडान राखेको त्यहाँका एक कर्मचारीले जानकारी दिए। 

अस्पतालको रेडियोलोजी विभागका कर्मचारीले समेत मेसिन कहिले बन्छ भन्ने थाहा नभएको तर बन्न समय लाग्न सक्ने देखिएको बताए।

निजामति अस्पतालमा दैनिक ३०/३५ जनाको सीटी स्क्यान हुन्थ्यो। तर, सीटी स्क्यान मेसिन बिग्रँदा बिरामीलाई वीर अस्पताल लगायत अन्य अस्पतालमा पठाउनु परेको छ।

सवा करोड खर्चेर बनाइयो शिक्षणको सीटी स्क्यान

उता त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालको सीटी स्क्यान मेसिन पनि बिग्रिएको थियो। तर, बिग्रिएको करिब एक महिनामा शुक्रबार बनेको अस्पताल स्रोतले जानकारी दियो। 

शिक्षण अस्पतालको सीटी स्क्यान मेसिनको ट्युब बिग्रिएकाले ट्युब फेरेपछि चल्न थालेको हो। ट्युब फेर्न करिब ९१ हजार अमेरिकी डलर खर्च भएको छ। जुन करिब एक करोड १७ लाख नेपाली रुपैयाँ हुन आउँछ।

‘बाहिरबाट आउनुपर्ने ट्युब आउनलाई नै समय लाग्दो रहेछ,’ शिक्षण अस्पताल स्रोतले भन्यो, ‘बिग्रेको २५ दिन जतिमा बन्यो। ९१ हजार डलरमा बनाइयो।’

शिक्षण अस्पतालमा बनेको त्यो मेसिन ‘१२८’ स्लाईसको सिमेन्स कम्पनीको हो भने जर्मनबाट ट्युब आएपछि मेसिन बनेको हो।

शिक्षण अस्पतालमा रेडियोलोजी विभाग भित्र एउटा र अर्को आकस्मिक विभागमा गरी दुई वटा सीटी स्क्यान मेसिन छन्। रेडियोलोजी विभागभित्र रहेको मेसिन भने बिग्रिएको थियो। त्यो पनि बनेपछि हाल दुवै सीटी स्कान सुचारु भएको छ।

१४ चैत, २०७९, १३:१५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।