मनाङ मर्स्याङ्दी क्बल खप्तड गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्बल खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी : मनाङ मर्स्याङ्दी क्बल छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो।

मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल  गरे। यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए।

खेलको ३७औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए। बागमतीले खेलको ४१औं मिनेटमा बराबरी गोल फर्कायो।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो। मनाङका लागि खेलको ६६औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए।

अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल चैत १५ गते हुनेछ।

प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता छ। चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ।

१३ चैत, २०७९, २१:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।