दिल्लीबाट नौ नेपाली युवतीको उद्दार, बेश्यावृत्तिमा लगाउने तीन जना पक्राउ

दिल्लीबाट नौ नेपाली युवतीको उद्दार, बेश्यावृत्तिमा लगाउने तीन जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले भारतको दिल्लीमा बेचिएका नौ युवतीको उद्दार गरेको छ।

काठमाडौंका विभिन्न बार, क्लब, क्याफे र दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्लीमा आकर्षक तलबसहित काम लगाइदिन्छु भन्दै बन्धक बनाएर जबरजस्ती बेश्यावृत्तिमा लगाइएका नौ युवतीलाई व्यूरोले उद्दार गरेर चैत ७ गते नेपाल ल्याएको हो।

उनीहरूलाई भारत पुर्याएर जबरजस्ती बेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न तीन जनालाई व्यूरोले पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान गरिरहेको छ।

पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका–९ बस्ने २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङको धुनिबेशी नगरपालिका–२ बस्ने २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया शुष्मा मग्राती रहेका छन्।

उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरूलाई प्रलोभनमा पारेको र नेपालगञ्जको जमुनाहा नाका हुँदै बस चढाएर दिल्ली पुर्याएको व्यूरोले जनाएको छ।

संलग्न गिरोहले असोजदेखि फागुनसम्म गरेर नौ जना युवतीलाई काठमाडौंबाट दिल्ली पुर्याएका थिए। जसमध्ये केहीलाई प्राइभेट गाडीमा राखेर खाना तथा जुसमा औषधि मिसाएर बेहोस बनाई सीमा कटाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

संलग्न गिरोहले पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा भारतीय नम्बरको सिमकार्ड र मोबाइल दिएका थिए।

साथै उनीहरूले फेसबुक खोलेर पासवर्ड आफूले राख्दै निगरानी गरेको अनुसन्धानले देखाउँछ। व्यूरोका अनुसार युवतीहरूलाई दिल्लीको किशनगढस्थित पंजावी ढावा भन्ने स्थानमा भाडामा लिइएको फ्ल्याटमा सीसी क्यामेराको निगरानीमा राख्ने गरिएको थियो।

सम्पर्कमा आएका व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत पीडित युवतीहरूको फोटो पठाइ छानेका युवतीहरूलाई बेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल र घरहरूमा ट्याक्सी बुक गरी पुर्याइदिने गरेको पीडितको बयान उद्धृत गर्दै व्यूरोले जनाएको छ।

व्यूरोका अनुसार आफ्ना चिनजानका विश्वासिला ट्याक्सी ड्राइभरमार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइनमार्फत हुने गरेको थियो।

त्यसैगरी प्रत्येक महिना एक युवतीले कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दवाव दिने गरेको पीडितहरूले बयानमा बताएका छन्।

उक्त गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य शहरहरूमा समेत पठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

१३ चैत, २०७९, २०:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।