पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ : काँग्रेसलाई अर्थ दिएर गृह लिने हो

पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ : काँग्रेसलाई अर्थ दिएर गृह लिने हो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय नेपाली काँग्रेसलाई दिने गरी गृह र सञ्चार मन्त्रालय आफ्नो पार्टीलाई राख्ने पार्टी बैठकमा ब्रिफ गरेका छन्।

सोमबार पदाधिकारी बैठकमा उनले मन्त्रीपरिषद् विस्तारबारे दलहरूसँग भइरहेको छलफलबारे जानकारी गराएका थिए। बैठकमा पार्टीका नेताहरूले गृह अन्य दललाई नदिन आग्रह गरेका थिए।

गृहमा काङ्ग्रेससहित एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत दाबी गरेको दाबी सार्वजनिक भइरहेका छन्। काँग्रेस अर्थ र परराष्ट्रमा सहमत भए पनि एकीकृतले भने दाबी छाडेको छैन।

बैठक स्रोतका अनुसार प्रचण्डले मङ्गलबार मन्त्रिपरिषद विस्तारमा सहमति हुने जानकारी दिँदै गृह र सञ्चार पार्टीसँगै राख्ने जानकारी गराएका थिए।

प्रचण्डले सकेसम्म पार्टीका लागि एक मन्त्रालय थप्ने गरी छलफल भइरहेको समेत ब्रिफ गरेका थिए।

सोमबार प्रचण्डले काँग्रेस र एकीकृत समाजवादीका नेतृत्वसँग छलफल गरेका थिए। छलफलमा मङ्गलबार गठबन्धनमा रहेका १० दलको बैठक राख्ने सहमति भएको छ।

१० मन्त्रालयमा दबी गरेको काँग्रेस ७ मन्त्री र एक राज्यमन्त्री लिन राजी भएपछि मन्त्रीपरिषद् विस्तार सहज बनेको छ। एकीकृत समाजवादीसहितको पार्टीबारे भने अझै सङ्ख्यामा सहमति भइसकेको छैन।

काँग्रेसले अर्थ, परराष्ट्र, शिक्षा, स्वास्थ्य जस्ता मन्त्रालय मागेको छ। गृहसहित सरकारमा जान चाहेको एकीकृत समाजवादीको मन्त्रालय पक्का भइसकेको देखिएन। 

१३ चैत, २०७९, १३:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।