प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन स्थानीय तहलाई मन्त्रीको निर्देशन

प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन स्थानीय तहलाई मन्त्रीको निर्देशन

काठमाडौँ : स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई फर्काउन थालेपछि मन्त्रालयले सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ।

मन्त्री अमन लाल मोदीले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै सात दिनभित्र हाजिर गराउन निर्देशन दिँदै नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका-गाउँपालिकाको खाता सञ्चालन गराउन कोष तथा लेखा नियन्त्रण कार्यालयलाई परिपत्र समेत गरेको छ।  

मन्त्रालयका अनुसार निर्णय लगत्तै हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रवार नै परिपत्र गरिसकेको छ।

परिपत्रमा ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका-गाउँपालिकाले प्रचलित कानुन हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको उल्लेख छ।

खटाइएको प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्रको मितिले सात दिनभित्र हाजिर गराई सोको जानकारी मन्त्रालयमा दिन र अन्यत्र खटाइएका कर्मचारीहरूलाई समेत सोही अवधि भित्र खटाइएको निकायमा रमाना दिन भनिएको छ।

१२ चैत, २०७९, १८:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।