थ्री नेसन्स कपमा लाओसले भुटानलाई हरायो, फाइनल प्रवेशको सम्भावना कायमै

थ्री नेसन्स कपमा लाओसले भुटानलाई हरायो, फाइनल प्रवेशको सम्भावना कायमै

काठमाडौं : बोनकोङको २ गोलको मद्दतले लाओसले थ्री नेसन्सकपमा शनिबार भुटानलाई २–१ ले हराएको छ।

दशरथ रंगशालामा प्राप्त यस जितपछि लाओसको फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ। लाओसको यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ।

अब भुटानले मंगलबार हुने खेलमा नेपालको सामना गर्नेछ। त्यसै खेलको नतिजाले उपाधि भिड्ने दुई टिम निश्चित गर्नेछ।

लिग चरणको दुई खेल समाप्त हुँदा नेपाल ३ अंकमा शीर्ष स्थानमा छ। त्यसपछि लाओस दोस्रो स्थानमा छ। उसको दुई खेलबाट ३ अंक भएको छ। भुटान भने अंकविहीन छ।

नेपालविरुद्धको पहिलो खेल गुमाएको लाओसले यो जितसँगै प्रतियोगितामा पुनरागमन गरेको हो। बोनकोङले खेलको चौथो मिनेटमै गोल गर्दै लाओसलाई अग्रता दिलाए।

भुटानका लागि कप्तान छन्चो ग्याल्सेनले ३४ औं मिनेटमा बराबरी गोल गरे। दोस्रो हाफको ७१औं मिनेटमा बोनकोङले दोस्रो गोल गरे र यससँगै लाओसको जित निश्चित भएको थियो।

११ चैत, २०७९, २०:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।