तिलोत्तमा गोल्डकपमा रेफ्री विवाद, चौथो श्रेणीको रेफ्री राखिएको सहभागी क्लबहरूको आरोप

तिलोत्तमा गोल्डकपमा रेफ्री विवाद, चौथो श्रेणीको रेफ्री राखिएको सहभागी क्लबहरूको आरोप

बुटवल : बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२औं तिलोत्तमा गोल्डकपमा रेफ्री विवाद चर्किएको छ। गोल्डकपमा फुटबल खेलिरहेका खेलाडीहरूले रेफ्रीप्रति असन्तुष्टि जनाएका छन्।

प्रतियोगितामा रेफ्रीहरूको श्रेणी नमिलेको आरोप खेलाडीको छ। जसकारण खेलमा रेफ्रीले सहि निर्णय दिन नसकेको खेलाडीहरूको भनाइ छ।

पहिलो श्रेणीको प्रतियोगितामा दोस्रो, तेस्रो तथा चौथौ श्रेणीका रेफ्रीहरूलाई राखेर आयोजकले गल्ती गरेको सहभागी क्लबका प्रशिक्षकहरूको आरोप छ।

सशस्त्र प्रहरीको एपीएफ क्लबका प्रशिक्षक उर्जन श्रेष्ठले गोल्डकप खेलाएको अनुभवविनाका केही रेफ्रीहरूका कारण समस्या आएको बताए।

नेपाल पुलिस क्लबका रबिन श्रेष्ठले पनि मनाङसँगको खेलमा रेफ्रीका कारण हार्न पुगेको दाबी गरे।

हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्री ज्ञान बहादुर थापाबाट सन्तोषजनक खेल खेलाउन नसकेको खेलपछिको पत्रकार सम्मेलनमा बताए।

डिबक्सभित्र खेलाडी लडाउँदा पेनाल्टी दिनुपर्नेमा नदिँदा आफूहरू पराजित भएको उनको भनाइ छ। रेफ्री विवादका कारण संघका पदाधिकारीहरूले राजीनामा समेत दिएका छन्।

प्रतियोगिता जिल्लाका टप फाइभ रेफ्रीबाट खेलाउने निर्णय कार्यसमितिमा छलफल नगरी भएको भन्दै रुपन्देही रेफ्री संघका उपाध्यक्ष प्रकाश नवाङ, सचिव रुपेन्द्र गुरुङ, कार्यसमिति सदस्य सुजु घले र बबि छन्त्यालले मंगलबार लिखित राजीनामा दिएका छन्।

प्रतियोगिताको तयारीकै क्रममा चैत ३ गते आयोजक रुपन्देही जिल्ला फुटबल संघले बैठक डाकेर प्रतियोगिता खेलाउन फिफा रेफ्री ल्याउने जानकारी रेफ्री संघमा गराएको थियो।

तर, केहीसमयपछि यो निर्णय रोकेर दुई जना राष्ट्रिय रेफ्री ल्याउने र बाँकी जिल्लाकै रेफ्रीहरूले खेलाउने निर्णय भयो। आर्मीका राष्ट्रिय रेफ्री विश्वास कार्की र उमेश बिडारीलाई खबर समेत गरियो।

उनीहरूले बिदा मिलाएर आउने तयारी गरिसकेपछि भने एकाएक सबै खेल जिल्लाकै रेफ्रीबाट खेलाउने निर्णय गरियो। तर नाम भने गोप्य राखियो।

रुपन्देहीमा बेसिक पास गर्ने क्रममा एक पटक फिटनेश पास गरेका बाहेक दोस्रो पटक फिटनेश पास गर्ने रेफ्री औँलामा गन्न सकिने मात्र छन्।

९ चैत, २०७९, ११:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।