‘हिनामिना गरेको भए खाल्डो खनेर पुरिदिए हुन्छ, मानसिक यातना सहन सक्दिन’

‘हिनामिना गरेको भए खाल्डो खनेर पुरिदिए हुन्छ, मानसिक यातना सहन सक्दिन’

काठमाडौं : सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा मुख खोलेका छन्।

रंगशाला निर्माणस्थलमै पुगेर उनले आफूहरूमाथि लागेका आरोपबारे जवाफ दिनुका साथै रंगशाला अलपत्र पर्नुका कारण विस्तार गरे।

राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरूले मानसिक यातना भोग्नुपरेको सुनाए। केही आक्रोशित र केही भावुक देखिएका धुर्मुसले आफूले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको उल्लेख गरे।

‘यदि एक रूपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ’, धुर्मुसले भने, ‘तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ।’

सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको धुर्मुसको भनाइ छ। सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनले बताए।

उनले भने, ‘म आज अलि आक्रोशित पनि हुन सकुँला। अलि बढि उत्तेजित पनि हुन सकुँला। मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन। तर म बाध्य भएँ। के गरूँ? म मानसिक यातना भोगिरहेको छु। डेढ वर्षदेखि डिप्रेस्ड छु। त्यसैले म सुरूमै माफी चाहन्छु। मैले बोलेका शब्दले कसैलाई ठेस पुराउँछ भने म माफी चाहन्छु।’

उनले अगाडि थपे, ‘जब नेपाली खेलाडीले नेपालको शीर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो? के हामीले पाप गरेका थियौं? यो मेरो मात्र सपना होइन नि त यो त सबै देशको सपना हो। हामी लुकेर चाहिँ कहाँ गएका छौँ? अहिले पनि रंगशालाका मै छौँ, छोडेका छैनौँ, हामी सिंहदरबार धाइरहेका छौँ, सबैबाट आशावादी भयौँ, २०७४ मा भरतपुर महानगरपालिकालाई हर हिसाब बुझायौँ। त्यसपछि हामी अनेक मन्त्रालय, सचिवहरूकोमा धाउन थाल्यौँ, म नपुगेको ठाउँ सायदै कमै होला। गलत तरिकाबाट काम भएको छैन। अझै मेरो कहाँ-कहाँ हिसाब देखाउनपर्ने हो देखाउन तयार छु, चेकजाँच गरियोस्। त्यसैले म बिन्ती गर्छु नेपाल सरकारलाई यदि मेरो कहिँ कतै खोट भेटियो भने तुरुन्त यसको निर्णय होस्।’

७ चैत, २०७९, १५:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।