पत्रकारहरू बिक्रीमा छन् भनेर आलोचित सभामुखविरुद्ध संसदमै उठ्यो प्रश्न, पीत पत्रकारबारे जानकारी भए छानबिन गर्न माग

पत्रकारहरू बिक्रीमा छन् भनेर आलोचित सभामुखविरुद्ध संसदमै उठ्यो प्रश्न, पीत पत्रकारबारे जानकारी भए छानबिन गर्न माग

काठमाडौँ : पत्रकारहरू बिक्रीमा रहेको र पीत पत्रकारितामा बढेको अभिव्यक्ति दिएर विवादमा तानिएका सभामुख देवराज घिमिरेमाथि संसदमा प्रश्न उठेको छ।

दुई सांसद्हरूले प्रतिनिधि सभाको बैठकमा बोल्दै उनको अभिव्यक्ति सार्वजनिक सरोकारको विषय भएको भन्दै यसबारे सभामुखसँग प्रमाण भए को-को बिक्रीमा हो अनि कसले पीत पत्रकारिता गरे त्यसबारे छानबिन गर्न समेत माग गरेका थिए।

आइतबार प्रतिनिधि सभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखले पत्रकारहरूबारे अध्ययन गरेर भनेको हो भने समिति गठन गरेर छानबिन गर्नुपर्ने माग राखे।

‘पत्रकारहरुकोबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनु पर्यो। कुन-कुन हो पीत पत्रकारिता गर्ने? यो सार्वजनिक महत्त्वको विषय हुन्छ सभामुखबाट उठेको विषय उनले भने।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पत्रकार र पत्रकारिताबारे अभिव्यक्ति दिँदा त्यसले प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन भनेर सभामुखलाई प्रश्न गरेका थिए।

‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्,’ उनले संसद्मा भने।

नेपाल पत्रकार महासङ्घको टोलीको भेटमा सभामुखले सो आपत्तिजनक अभिव्यक्ति दिएका थिए। महासङ्घले सभामुखलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै अभिव्यक्ति फिर्ता नलिए सभामुख विरुद्ध नै आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको थियो।

५ चैत, २०७९, १६:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।