कांग्रेससँगै रास्वपाले पनि गर्‍यो प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

कांग्रेससँगै रास्वपाले पनि गर्‍यो प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज (आइतबार) बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

यसअघि आजै नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पनि प्रचण्डलाई विश्वासको मत दिने र प्रचण्ड नेतृत्वकै सरकारमा समेत सहभागी हुने निर्णय गरेको थियो।

रास्वपाले यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो र सरकारमा सहभागी भएको थियो।

तर अवैध नागरिकताका कारण पार्टी अध्यक्ष रवि लामिछानेको सांसद र गृहमन्त्री पद गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।

फेरि सरकारमा जाने विषयमा भने ठोस निर्णय नलिएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार पुनः विश्वासको मत लिने कार्यक्रम रहेको छ। यसअघि दाहालले गत पुस २६ गते विश्वासको मत लिएका थिए। तर एमालेसँगै अन्य केही दलहरूले समर्थन फिर्ता लिएका थिए।

५ चैत, २०७९, १३:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।