सडक खाली नगराइ राष्ट्रपतिको सवारी, पौडेलले गरे कुमारीको दर्शन

सडक खाली नगराइ राष्ट्रपतिको सवारी, पौडेलले गरे कुमारीको दर्शन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार काठमाडौंको वसन्तपुर पुगेर कुमारीको दर्शन गरेका छन्।

शनिबार अपरान्ह राष्ट्रपति पौडेल कुमारी घर गएका हुन्। उनी जाँदा सर्वसाधारणको आवतजावत रोकिएको थिएन।  

यसअघि राष्ट्रपतिको सवारीमा सडक खाली गराउँदा चर्को आलोचना हुने गरेको थियो। तर प्रायः व्यक्तिगत सवारीमा सडक खाली गराउने गरिन्न। 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले कुमारी घरमा स्वागत गरेका थिए।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल कुमारी घर पुगेका हुन्।

आजै कुमारी घरको प्रतिनिधिमण्डलले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष सो पूजाको प्रसाद लगिने परम्परा छ।

* यस अगाडि प्नकाशित समाचार पुन सम्पादन गरिएको छ।

४ चैत, २०७९, १८:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।