लोकतान्त्रिक संस्थाहरू कानूनसम्मत नहुँदा व्यवस्थाप्रति नै वितृष्णा जाग्नसक्छ : राष्ट्रपति पौडेल

लोकतान्त्रिक संस्थाहरू कानूनसम्मत नहुँदा व्यवस्थाप्रति नै वितृष्णा जाग्नसक्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक संस्थाहरू बलिया र  कानूनसम्मत नहुँदा व्यवस्थाप्रति नै वितृष्णा जाग्न सक्नेतर्फ सचेत हुन आग्रह गरेका छन्।

शनिबार संघीय र प्रदेश सांसद्हरूलाई राखिएको चियापान समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरू बलिया र कानूनसम्मत नहुँदा त्यस्ता संस्थाप्रति नागरिकको विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्नेतर्फ सचेत गराए।

राष्ट्रपति पौडेलले निर्वाचित जनप्रतिनिधिले संविधान र कानूनको मर्म तथा भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा त्यसले व्यवस्थामाथि नै संकट निम्त्याउनेतर्फ सांसद्हरुलाई सचेत गराए। उनले पटक–पटकका नयाँ–नयाँ प्रयोग नेपालले थाम्न सहज नहुने बताए।

संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तव्य भएको स्मरण गर्दै उनले गणतान्त्रिक नेपालको  राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको स्पष्ट पारे।

राष्ट्रपति  संस्थाले  निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दै पौडेलले राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने उल्लेख गरे।

संविधानले जनतालाई असीम अधिकार प्रदान गरेको भन्दै त्यसलाई जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको कर्तव्य भएको राष्ट्रपति पौडेलले बताए।
 
संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहरूको न्यूनीकरण तथा  राजनैतिक उपलब्धिहरूको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता देखेको उनले बताए।

प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसके प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ गम्भीर हुन उनले सबैलाई आग्रह गरे।

मेलमिलाप र राष्ट्रिय एकताकै माध्यमबाट कठिन समयमा पनि  समस्याको सहज समाधान निकाल्न सकेको इतिहास मनन् गर्दै सबै एकतावद्ध हुन जरुरी रहेको राष्ट्रपति पौडेलले बताए।

४ चैत, २०७९, ११:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।