ए डिभिजन लिग तीन खेल हुँदै, क्रिकेट खेलाडीलाई सम्मान पनि आजै

ए डिभिजन लिग तीन खेल हुँदै, क्रिकेट खेलाडीलाई सम्मान पनि आजै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। पाँचौं चरणका अन्तिम तीन खेलमध्ये एक च्यासल मैदान र दुई दशरथ रंगशालामा हुनेछ।

च्यासल मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स दोस्रो जितको खोजीमा छ भने चार खेलबाट पाँच अंक बटुलेको आर्मी पनि दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ।

यस्तै, दिउँसो साढे २ बजे नै रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्। जितविहीन हुँदै तालिकाको पुच्छारमा रहेको पुलिस पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ।

दशरथ रंगाशालामै अपराह्न साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र एपीएफ दुवै तेस्रो जित निकाल्ने योजनामा छन्।

यी दुईबीचको खेलअघि आईसीसी विश्वकप क्रिकेटको छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मानको कार्यक्रम राखिएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो।

साथै मनाङ र एपीएफ क्लबबीचको खेलमा दर्शकबाट उठेको सम्पूर्ण रकमसमेत नेपाल क्रिकेट संघले स्थापना गर्न लागेको खेलाडी कल्याणकारी कोषमा जम्मा गरिनेछ।

४ चैत, २०७९, ०८:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।