निश्चित कम्पनीको उत्पादन मात्रै मिल्ने खरिद सर्त राखेर महँगोमा ‘सी-आर्म’ मेसिन किन्दै प्रहरी

निश्चित कम्पनीको उत्पादन मात्रै मिल्ने खरिद सर्त राखेर महँगोमा ‘सी-आर्म’ मेसिन किन्दै प्रहरी

काठमाडौँ : नेपाल प्रहरी अस्पतालले मिलेमतोमा निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर पुरानो प्रविधिको  ‘सी-आर्म’ मेसिन किन्न खरिद खरिद प्रक्रिया अगाडि बढाएको छ।

प्रहरी अस्पतालकी (प्रमुख) प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जिई कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी ‘लक्ड’ स्पेशिफिकेशन बनाएर करिब एक करोड १८ लाखमा ‘सी-आर्म’ मेसिन खरिद गर्न लागेकी हुन्।

अर्थोपेडिक सर्जरीको क्रममा ‘सी-आर्म’ को माध्यमबाट भिडियो एक्स-रे जस्तै गरी हेरेर शल्यक्रिया गरिन्छ। जसले गर्दा शल्यक्रिया भइरहेको ठाउँको अवस्थाका बारेमा चिकित्सकलाई जानकारी लिइरहन सहज हुन्छ।

अहिले एफपिडी प्रविधिको ‘सी-आर्म’ आइसकेको छ। तर नयाँ प्रविधिको मूल्यभन्दा पनि बढाएर अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि-आर्म त्यो पनि महंगोमा किन्न लागेको हो।

उकेराले सो खरिद प्रक्रियाको प्राविधिक स्पेशिफिकेशन केही बायोमेडिकल इन्जिनियरलाई देखाउँदा त्यसमा राखिएका सर्तहरूले निश्चित कम्पनीबाट उत्पादन हुनेसँग मात्र मिल्ने गरी बनाएको पुष्टि भयो।

जानकारका अनुसार प्राविधिक मापदण्ड जिई कम्पनीबाट उत्पादित सि-आर्मलाई मात्र मिल्छ। अन्य कम्पनीको उत्पादनसँग मिल्दैन। नेपालमा जिइको नेपाल एजेन्ट म्याक्स मेडिटेक हो।

यसरी बनाइयो लक्ड स्पेशिफिकेशन

डा. सिंहले भने लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन नभनाएको दाबी गरिन्। तर स्पेशिफिकेशन र उनको दाबी मिलेको देखिएन।

‘सी-आर्म’ मेसिन खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदा निश्चित कम्पनीको उत्पादकसँग मात्रै मिल्ने गरी राखिएको देखियो।

जानकारका अनुसार एक करोड १८ लाख मूल्यमा नयाँ प्रविधिकै सुविधायुक्त ‘सी-आर्म’ मेसिन किन्न सकिन्छ।

तर, प्रहरी अस्पतालले त्यति नै मूल्यमा पुरानो प्रविधिको ‘सी-आर्म’ खरिद गर्न लागेकाले खरिद प्रक्रिया शङ्कास्पद देखिन्छ। त्यसमा स्पेशिफिकेशनका मापदण्डहरूले त सिधै मिलेमतो देखाउँछ।

टेन्डर आह्वान गर्दा बुँदा नं. ‘ए’ को ‘२’  मा ‘आउटपुट पावर सुड बी २.५ केडब्लु अर मोर’ लेखिएको थियो

प्रिबिड बैठक पछि त्यो बुँदा संशोधन गरेर ‘आउटपुट पावर सुड बी एटलिष्ट २ केडब्लु अर मोर’ राखियो।

यसरी संशोधन गरी २.५ केडब्लु (किलोवाट) वा त्यो भन्दा बढीको शक्ति दिने मेसिन हुनुपर्ने प्रावधानको ठाउँमा दुई वा त्यो भन्दा बढी किलोवाट शक्ति दिने मेसिन भए पनि हुने बनाइयो।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘ए’ को ‘४’, ‘ए’ को ‘५’ र ‘बी’ को ‘१’ संशोधन भएको थियो।  तर, संशोधन हुनै पर्ने बुँदा भने अस्पतालले संशोधन गरेन।

‘सी—आर्म’ मेसिन ‘सिसिडी (चार्ज कपल्ड डिभाइस)’ र ‘एफपिडी (फ्ल्याट प्यानल डिटेक्टर)’ गरी दुई किसिमका प्रविधिका छन्।

प्राविधिक स्पेशिफिकेनको बुँदा नं. ‘सी’ को ‘२’ मा ‘क्यामेरा: सुड बी १के*१के प्रोग्रेसिभ स्क्यान मेडिकल ग्रेड वीथ इट्स इम्पुट एन्ड आउट पुट अफ १के*१के’ लेखिएको छ।

तर, यो पुरानो सिसिडी (१के*१के) एनालग प्रविधिको ‘सी—आर्म’ हो। यो ‘सी—आर्म’को बजार मूल्य बढीमा ८० लाख सम्म पर्ने देखियो। तर, यही पुरानो प्रविधिको ‘सी—आर्म’ प्रहरी अस्पतालले एक करोड १८ लाखमा किन्ने तयारी गरेको हो।

सिसिडी प्रविधिको यो ‘सी—आर्म’ले धेरै मात्रामा रेडिएसन फाल्छ। जसले बिरामी र त्यहाँ काम गर्ने चिकित्सकलाई क्यान्सर लगायत रेडिएसनको नकारात्मक जोखिम बढाउँछ।

यस किसिमको प्रविधिको ‘सी—आर्म’ले राम्रो नतिजा (इमेज) समेत दिन सक्दैन।

अहिले सिसिडी प्रविधिको तुलनामा नयाँ र सुविधायुक्त एफपिडी प्रविधिको ‘सी-आर्म’ आइसकेको छ।

यस किसिमको डिजिटल ‘सी-आर्म’ ले कम मात्रामा रेडिएसन फाल्छ। एफपिडी मोडलको आधुनिक प्रविधियुक्त ‘सी-आर्म’ ले नतिजा (इमेज क्वालिटी) पनि राम्रो दिन्छ।

प्रहरी अस्पतालका लागि बनाइएको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘सी’ को ‘२’ मा ‘क्यामेरा: सुड बी १के*१के प्रोग्रेसिभ स्क्यान मेडिकल ग्रेड वीथ इट्स इम्पुट एन्ड आउट पुट अफ १के*१के’ लेखिएको छ। तर, यसको सट्टा ‘डिटेक्टर टाइप: फ्ल्याट प्यानल डिटेक्टर’ हुनुपर्थ्यो।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘डी’ को ‘१’ जिइ कम्पनीको ‘सी-आर्म’सँग मात्रै मिल्ने गरी लक्ड गरेर बनाइएको छ।

‘डी’ को ‘१’ मा,‘सिङ्गल इन्टेग्रेटेड सिस्टम विथ स्क्रिन २७”(इन्च) अर मोर’ राखियो। यो बुँदाको सट्टा ‘सिस्टम विथ स्क्रिन २७”(इन्च) अर मोर इन सिङ्गल अर डबल (ड्युअल) मनिटर’ राख्न सकिन्थ्यो।

सिङ्गल अर डबल भनेको भए अन्य कम्पनीले समेत ‘सी-आर्म’ टेन्डरमा प्रतिस्पर्धा गर्न सक्थे। तर, यो बुँदा संशोधन नभएसम्म जिइबाहेक अन्य सामाग्रीको मापदण्डै पुग्दैन। जानकारका अनुसार,‘सिङ्गल टच स्क्रिन भएको जिइसँग मात्रै छ।’

तर, यो बुँदामा ‘सिङ्गल इन्टेग्रेटेड सिस्टम विथ स्क्रिन २७”(इन्च) अर मोर’ भन्नुको अर्थ सिङ्गल स्क्रिनसँगै ‘टच’ पनि भएको र २७ इन्च वा त्यसभन्दा बढी इन्चको आकारको स्क्रिन हुनुपर्ने प्रावधान राखियो।

जिइले मात्र प्राविधिक मापदण्ड पुरा गराउनु र खरिद मूल्य बढाउनु बाहेक टच स्क्रिनको मापदण्ड राख्नुको अर्थ देखिन्न।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘एफ’ मा ‘दी सिङ्गल इन्टिग्रेटेड सिस्टम विथ कन्ट्रोल युनिट एन्ड डिस्प्ले युनिट इन्टेग्रेटेड...’ राखियो। यो पनि जिइको उत्पादनसँग मात्रै मिल्छ।

अस्पताल प्रमुखकै इन्ट्रेस्टमा मिलेमतो

प्राविधिक स्पेशिफिकेशनका प्रावधान अनि खरिद प्रक्रियामा एआइजी सिंहले अपनाएको शैलीले उनकै संलग्नतामा निश्चित कम्पनीको मेसिन महँगोमा किन्ने तयारी भएको प्रस्ट देखिन्छ। उनले 'लक्ड स्पेशिफिकेशन नबनाएको र कुनै गल्ती पनि नभएको' दाबी त गरिन्। तर स्पेशिफिकेशनले त्यो देखाउँदैन।

प्राविधिक रूपमा बायोमेडिकल इन्जिनियरहरूको सहभागिता भएकाले समस्या नभएको दाबी गर्दै चित्त नबुझे उजुरी गर्न सकिने उनको तर्क थियो।

‘त्यस्तो उहाँहरू (सप्लायर्स) लाई प्रब्लम लाग्छ भने उहाँहरूले निवेदन हुन्छ,’ डा. सिंहले भनिन्,उजुरी हुन्छ। अख्तियार छ। जताततै (उजुरी) हाले भइहाल्यो नि त।’

पुरानो प्रविधिको मेसिन तर महँगोमा किन किन्न खोजेको भन्ने जिज्ञासामा डा. सिंहले गैर जिम्मेवार जवाफ दिँदै भनिन्- ‘त्यसो भए उजुरीसुजुरी हाल्ला नि त अर्कोले अनि हामी हेरौँला, क्यान्सिल गरौँला टेन्डर, सामान नकिनौँला। सप्से सजिलो त त्यही नै हो मलाई।’

लक्ड भएका बुँदा संशोधन भएन

पुस १८ मा करिब एक करोड १८ लाख मूल्य बराबरको ‘सी-आर्म’ मेसिन खरिदका लागि बोलपत्र आह्वान गरियो।

सो बोलपत्र आह्वानको सूचनामा एक सेट (एउटा) ‘सी-आर्म’ खरिदका लागि बोलपत्र प्रस्तावक सप्लायर्स कम्पनी (बिडर) ले दुई लाख ९७ हजार बोलपत्र जमानत रकम (बिड सेक्युरिटी अमाउन्ट) राख्नुपर्ने उल्लेख छ। सो जमानत रकमको आधारमा हेर्दा करिब एक करोड अठार लाख ८० हजार मूल्यको एमआरआई खरिदका लागि टेन्डर भएको देखिन्छ।

बोलपत्र आह्वानको सूचना अनुसार माघ ६ गतेलाई प्रि-बिड बैठक तोकियो। निर्धारित समयमा भएको प्रि-बिड बैठकमा सप्लायर्सहरु सहभागी भएर एउटा निश्चित कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाइएको भन्दै स्पेशिफिकेशन संशोधनको प्रस्ताव गरे।

अस्पतालले प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन पनि गर्यो। तर, लक्ड भएका मुख्य बुँदा भने संशोधन भएन। अहिले सो टेन्डर प्राविधिक र आर्थिक मूल्याङ्कनको चरणमा छ।

डा. सिंहले खरिद प्रक्रिया प्राविधिक मूल्याङ्कनको चरणमा रहेको जानकारी दिँदै भनिन्' ‘रिपोर्ट त मकहाँ आएकै छैन। त्यो टेक्निकल कमिटीमा छ,’उनले भनिन्,‘त्यसपछि आर्थिक कमिटीमा आउँछ। त्यसपछि बल्ल मकहाँ आइपुग्छ।’

तर, लक्ड गरेर जिइसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाइएकाले प्राविधिक छनोटमा भने जिई मात्रै छनोट हुने देखिन्छ।

आर्थिक मूल्याङ्कनको चरणमा पनि महँगोमा मेसिन ल्याइदिने प्रस्ताव गर्ने जिई नै छानिने सम्भावना छ।

करिब एक करोड १८ लाखको ‘सी-आर्म’ मेसिनको बजेटको सीमा रहेको अवस्थामा जिइको सप्लायर्सले करिब एक करोड १३ लाखमा मेसिन ल्याइदिने गरी टेन्डर प्रस्ताव गरेको स्रोतले बतायो।

अन्य सप्लायर्सले त्यो भन्दा निक्कै कम मूल्यमा नयाँ टेक्नोलोजीको ‘सी-आर्म’ मेसिन ल्याउने गरी टेन्डर प्रस्ताव गरेका छन्।

२ चैत, २०७९, १७:०९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।