सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंश मच्चाउँछ : ओली

सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंश मच्चाउँछ : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्। उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रूपमा चित्रित गरे।

अध्यक्ष ओलीले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंश मच्चिने दाबी गरे। सत्ता गठबन्धनप्रति इंगित गर्दै उनले अहिलेको रावणले महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए।

‘१० दलीय गठबन्धनका जब १० टाउको एक ठाउँ हुन्छ त्यो भयंकर विद्रुप हुन्छ। १० वटा टाउको एकै ठाउँमा रावणको थियो, १० वटा टाउको एकै ठाउँमा भएपछि त रावण हुन्छ,’ उनले भने, ‘१० टाउके रावण, अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखिन्छ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरू चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।

अध्यक्ष ओलीले एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताए। सामान्य रूपमा एमालेको शक्ति कमजोर भए पनि शाक्यले नै जित्नुपर्ने बताए।

३० फागुन, २०७९, १८:०७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।