१० महिनामै टुट्यो नायिका वर्षाको विवाह, आशिषले गरे अर्कै युवतीसँग बिहे

१० महिनामै टुट्यो नायिका वर्षाको विवाह, आशिषले गरे अर्कै युवतीसँग बिहे

काठमाडौं : नायिका वर्षा शिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेको एक वर्ष पनि भएको छैन।

उनीहरूले गत वैशाखमा गुपचुप विवाह गरेका थिए। विवाहको १० महिनामै दुवैको वैवाहिक सम्बन्ध अन्त्य भएको छ।

वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम - आशिष र वर्षा।’

बीचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो। यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो।

सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो।

उनीहरूको वैवाहिक अवस्थाबारे उकेराले जिज्ञासा राख्दा वर्षाले प्रष्ट केही खुलाइनन्। उनले ‘सामाजिक सञ्जाल पारदर्शी छ। पब्लिक रुपमा यसबारे बोल्नु छैन। जसले जे सोच्दा पनि हुन्छ। सबैलाई आफूखुसी सोच्ने स्वतन्त्रता छ,’ मात्र भनिन्।

उकेराले सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ।

अमेरिका घुमेर फर्किए लगत्तै नायिका वर्षाले २०७९ वैशाखमा आशिषसँग विवाह गरेको बाहिरिएको थियो। उनले इन्स्टाग्राममा तस्विर राखेर यसको पुष्टि गरिन्। पछि वैवाहिक कार्यक्रमका थप तस्विर पनि बाहिरिए। 

उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन्। परिवारबाट विवाहको कुरा आएपछि उनले अमेरिका गएर आशिषलाई भेटेकी थिइन्। पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए।

विवाह भएको ४ दिनमै उनका श्रीमान आशिष वर्षालाई छाडेर अमेरिका पुगे। वर्षा ‘लक्का जवान’ फिल्मको प्रमोसनमा व्यस्त थिइन्। 

फिल्म रिलिज भएपछि उनी अमेरिका गइन्। वर्षाले नेपाल फर्किए लगत्तै श्रीमानसँगको फोटो सामाजिक सञ्जालबाट हटाएकी थिइन्। सोमबार त आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विरै बाहिरियो।

फागुन ३०, २०७९ मंगलबार ११:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।