धम्कीबाट अपिलमा झरे माओवादी धारका नौ दल

धम्कीबाट अपिलमा झरे माओवादी धारका नौ दल

काठमाडौँ : माओवादी धारका ९ दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन बनाउन सरकारलाई अपिल गरेका छन्।

आइतबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अपिल गरेका हुन्। विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्था भन्दा बाहिर जानु शान्ति सम्झौताका विरुद्ध हुने दाबी गरे।

माओवादी केन्द्र, क्रान्तिकारी–माओवादी, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, आम जनता पार्टी नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले अपिल जारी गरेका हुन्।

अपिलमा कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग समेत गरेका छन्।

द्धन्द्धकालमा मारिएकामध्ये पाँच हजारको हत्याको जिम्मेवारी लिने पुष्पकमल दाहाल प्रचण्डको सार्वजनिक अभिव्यक्तिकै आधारमा परेको रिटबारे सर्वोच्च अदालतमा बहस सुरु भएपछि छरिएका माओवादी धारका दलका नेताहरू एकै स्थानमा आएका हुन्।

रिट दर्ता खुल्ला भएको दिन उनीहरूले ठिक पार्ने भन्दै धम्क्याएका थिए। संयुक्त पत्रकार सम्मेलनमा भने अपिल शब्द प्रयोग गरेका थिए। सर्वोच्चले सो रिटमा कारण देखाऊँ आदेश जारी गरिसकेको छ।

२८ फागुन, २०७९, १७:४३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।