प्रचण्ड नेतृत्वको सरकारमा गगन कुनै मन्त्री नबन्ने

प्रचण्ड नेतृत्वको सरकारमा गगन कुनै मन्त्री नबन्ने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री नबन्ने बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू वर्तमान सरकारमा मन्त्री भएर जान नमिल्ने बताएका हुन्। उनले आफ्नो पार्टी सरकारमा गएमा सफल बनाउन लाग्ने बताए।

उनले सरकार टिकेको दिनको आधारमा भन्दा पनि कामको आधारमा मूल्याङ्कन गर्नुपर्ने दाबी गर्दै परिणाम दिन नसके पाँच वर्ष चलेको सरकारको पनि अर्थ नहुने बताए।

‘मैले ५ वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो। म काँग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो। सांसद भएर प्रधानमन्त्री अनि संसद्मा उठाउनुपर्ने कुरा उठाउँछु तर अहिले मन्त्री बन्दिन।'

उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री हुने अभ्यास रहे पनि सरकारले नागरिकलाई सेवा सुविधाहरू दिन सक्नुपर्ने बताए।

दलका नेताहरू खुसी हुँदैमा नागरिक र मतदाता खुसी हुन्छन् भन्ने भ्रम रहेको बताउँदै उनले नेता खुसी हुनु भनेको नागरिक खुसी हुनु नभएको बताए।

निर्वाचनको समयमा अहिले बनेकै गठबन्धन रहेकाले गठबन्धन बदलिँदैमा अवस्था नबदलिने दाबी गर्दै गठबन्धन बदलिएको आम नागरिकले अनुभव गर्नुपर्ने उनको मत थियो।

२८ फागुन, २०७९, १७:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।