उपराष्ट्रपतिमा कसैले उम्मेदवारी फिर्ता लिएनन्, चारै जना उम्मेदवार

उपराष्ट्रपतिमा कसैले उम्मेदवारी फिर्ता लिएनन्, चारै जना उम्मेदवार

काठमाडौं : उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका चार उम्मेदवारमध्ये कसैले उम्मेदवारी फिर्ता लिएनन्। आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि अब चारै जनाबिच प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन कार्यालयले रामसहायप्रसाद यादवविरुद्ध परेको निवेदन खारेज गर्दै उनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेपछि उनकै पार्टी जनता समाजवादीबाट परेको अर्को उम्मेदवारी फिर्ता हुनसक्ने देखिएको थियो। तर प्रमीला कुमारीले समेत उम्मेदवारी फिर्ता लिइनन्।

अब उपराष्ट्रपतिमा रामसहाय र प्रमीलाकुमारीसँगै एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीकी ममता झाविच प्रतिस्पर्धा हुनेछ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार ‘नाम फिर्ता लिने समय आइतबार दिउस १ बजेदेखि ४ बजेसम्म थियो।

कसैले पनि उम्मेदवारी फिर्ताको निवेदन नदिएपछि अन्तिम नामावली प्रकाशित गरिसकेको उनले बताए। उपराष्ट्रपतिका लागि चैत्र ३ मा मतदान हुनेछ।

२८ फागुन, २०७९, १७:१५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।