राष्ट्रपति निर्वाचित भएसँगै रामचन्द्र  मन्दिर र गुम्बा गए, चर्च र मस्जिद जालान्?

राष्ट्रपति निर्वाचित भएसँगै रामचन्द्र  मन्दिर र गुम्बा गए, चर्च र मस्जिद जालान्?

ललितपुर : राष्ट्रपतिमा निर्वाचित भएसँगै रामचन्द्र पौडेल धार्मिक अनि राजनीतिक धाम पुगिरहेका छन्। उनी हिन्दुहरूको धार्मिक स्थल पशुपति मन्दिर र बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल स्वयम्भू पुगे।

शुक्रवार उनी पशुपतिनाथदेखि स्वयम्भूसम्म पुगे। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेका थिए। उनी बिपी सङ्ग्रहालय समेत पुगे।

शनिवार उनी ललितपुरको वाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम र कीर्तिपुरमा रहेको पुष्पलाल पार्कमा पुगे।

उनी कीर्तिपुरको चम्पादेवीमा रहेको  पुष्पलाल पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए।

उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गर्दै पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए।

भट्टराई आश्रम पुगेर उनले सालिकमा माल्यार्पण गर्दै आश्रमको अवलोकन समेत गरेका थिए।

पौडेललाई आश्रम सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, काँग्रेस नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय लगायतले स्वागत गरेका थिए।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल पुगेका उनी अन्य धार्मिक स्थलमा भने गएका छैनन्। पौडेल धार्मिक निरपेक्ष नेपालका राष्ट्राध्यक्ष हुन्। 

२७ फागुन, २०७९, १८:१०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।