उपराष्ट्रपतिमा गठबन्धनबाटै तीन उम्मेदवार, एमालेबाट अष्टलक्ष्मी

उपराष्ट्रपतिमा गठबन्धनबाटै तीन उम्मेदवार, एमालेबाट अष्टलक्ष्मी

काठमाडौं : राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार छान्न सफल भएको आठ दलीय गठबन्धन बढेर १० पुग्यो। सङ्ख्या त बढ्यो तर उपराष्ट्रपतिको उम्मेदवार छान्न सर्वसम्मत निर्णय हुन सकेन।

निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला भए राम्रो भन्ने आशयका सार्वजनिक गरेसँगै अन्योल बढेको थियो। तर संविधानमा उपराष्ट्रपति र राष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था गरेको छ।

सो व्यवस्था अनुसार जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहाय यादवको उम्मेदवारी वैध नै हुने देखिए पनि सोही दलबाट प्रमीला यादवले समेत उम्मेदवारी दर्ता गरिन्। नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पहिलाको सहमति अनुसार नै रामसहायलाई मतदान गर्ने बताइसकेको छ।

पार्टीमा विमति भएर प्रमीलाको उम्मेदवारी परेको हो या रामसहायको उम्मेदवारी अस्वीकृत भएमा विकल्प खोजिएको प्रस्ट भएको छैन।

यति मात्र हैन गठबन्धनमै रहेको जनमत पार्टीले पनि उपराष्ट्रपतिमा विवादास्पद पृष्ठभूमिकी ममता झालाई पनि उम्मेदवार बनाएको छ। उनी साझा प्रकाशनको अध्यक्ष हुँदा अनियमिततामा परेकी पात्र हुन्।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ।

१० दलबिच सहमति गर्न शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसे पनि सर्वसम्मत निर्णय भने हुन सकेन। राष्ट्रपति निर्वाचन अगाडि नै राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो।

एकाएक निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा खस–आर्य समुदायबाहेकको महिला भए राम्रो हुने बताए। तर मापदण्डमा महिला नै हुनुपर्ने राख्न संविधानले नै छुट दिएको छैन।

संविधानमै फरक लिङ्ग वा समुदाय उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा पनि महिला नै अनिवार्य भन्ने छैन। महिला वा खस आर्य बाहेकको व्यक्ति भनिएको छ।

२७ फागुन, २०७९, १५:२७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।