स्वयम्भुरत्नको ५० वर्षदेखिको कला तपस्या, उनको हात चलमलाएसँगै प्रसन्न हुन्छन् मछिन्द्रनाथ

स्वयम्भुरत्नको ५० वर्षदेखिको कला तपस्या, उनको हात चलमलाएसँगै प्रसन्न हुन्छन् मछिन्द्रनाथ

काठमाडौं : स्वयम्भूरत्न बज्राचार्यको नामले परिचित पूर्णरत्न बज्राचार्य अहिले ६९ वर्षका भए। सानै देखि चित्रमा रुचि भएका उनले चित्र कोर्न थालेकै ५० वर्ष भयो। यही वर्ष उनको कला यात्रा ५० वर्षमा टेकिसक्यो।

मच्छिन्द्र बहालमा बस्ने उनलाई मच्छिन्द्रनाथको पुजारीको रूपमा समेत परिचित छन्। उनी सेतो मच्छिन्द्रनाथको पुजारी भए। त्यसपछि विभिन्न देवीदेवताको रंगाधिवेशन गर्ने अनि जीर्णोद्धार गर्न उनी सक्रिय छन्।

चुरोटका बट्टाहरूमा अभ्यास सुरु गरेका उनले आफ्नो रोजाई अनुसारै आर्टको औपचारिक शिक्षा लिन पाए। पढाइमा खासै रुचि नभएका उनले जब आर्ट पढ्न पाए अनि कसैले पढ भनेर समेत भन्नु नपरेको बताउँछन् उनी।

बुवा, आमाले सानैदेखि 'आफ्नो सपना पूरा गर्नु, जस्तो परिस्थिति आए पनि पछाडि नहट्नु' भनेर सिकाएको सम्झन्छन् उनी।

पहिलो पटक एसएलसीको परिक्षादिँदा उनी सफल हुन सकेनन्। १७ वर्षमा उनले दोहोर्याएर परीक्षा दिँदै एसएलसी उत्तीर्ण भए। त्यसपछि घर नजिकैको ललित कला क्याम्पसमा भर्ना भए।

ललितकला क्याम्पसबाट उनले सहजै  ब्याचलर्स इन फाइन आर्ट उत्तीर्ण गरे। अनि उनको गति बढ्यो। पहिलो-पटकमै उनले गणेशको मूर्ति बनाए।

कलेज पढ्दा पढ्दै उनको निलम ताम्राकारसँग प्रेम विवाह भयो। दुवै जना आर्ट प्रेमी। त्यही भएर पनि होला छोरालाई पनि उनले आफू जस्तै आर्टिस्ट बनाए।

'छोराले मैले भन्दा राम्रो चित्रहरू बनाउँछ। तर ग्राफिक्स आर्टमा बढी रुचि राख्छ'उनी भन्छन्।

भिडियो स्टोरी

२७ फागुन, २०७९, १४:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।