उपराष्ट्रपतिमा तीन महिलासहित चार जनाको उम्मेदवारी, यी हुन् प्रस्तावक र समर्थक

उपराष्ट्रपतिमा तीन महिलासहित चार जनाको उम्मेदवारी, यी हुन् प्रस्तावक र समर्थक

काठमाडौं : उपराष्ट्रपतिमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारुढ १० दलीय गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गर्दा प्रतिपक्षी एमालेले एक जनाको उम्मेदवारी दर्ता गराएको छ। एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ।

शाक्यको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, छविलाल विश्वकर्मा, सुवासचन्द्र नेम्वाङ, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिमाल रहेका छन्।

यस्तै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका रामसहायप्रसादवले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले प्रस्ताव र समर्थन गरेका थिए।

यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् भने समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी छन्।

यस्तै जसपाकै प्रमिला यादव पनि राष्ट्रपतिको उम्मेदवार बनेकी छन्। निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति निकालेर फरक लिङ्ग वा समुदायको मानिसको मात्र उम्मेदवारी दर्ता गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएपछि जसपाले प्रमिलाको पनि उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो।

उनको समर्थन र प्रस्तावमा पनि माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी उभिएको छ। प्रमिलाको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा र राजकिशोर यादव छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ छन्।

यस्तै, सत्ता गठबन्धकै तर्फबाट जनमत पार्टीकी सांसद् ममता झाले उपराष्ट्रपतिको निर्वाचनमा मनोनयन दर्ता गरेकी छन्। झा को प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा रूपा कुमारी यादव रहेका छन् भने समर्थक गोमा सापकोटा, विनिताकुमारी सिंह वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुन्।

सत्ताधारी दलले तीन जना उम्मेदवार बनाए पनि आइतबार छलफल गरेर साझा उम्मेदवार तय गर्ने सहमति भएको जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले यसअघि नै बताइसकेका छन्। साझा उम्मेदवार तय भएसँगै बाँकी उम्मेदवार नाम फिर्ता लिनेछन्।

२७ फागुन, २०७९, १४:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।