अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता, ओलीसहित पाँच जना प्रस्तावक

अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता, ओलीसहित पाँच जना प्रस्तावक

काठमाडौं : एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य शीर्ष नेताहरुको साथमा संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन्।

शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, छविलाल विश्वकर्मा, सुवासचन्द्र नेम्वाङ, रघुवीर महासेठ र गोकर्ण विष्ट छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिमाल रहेका छन् ।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य बागमती प्रदेशकी पूर्व तथा पहिलो महिला मुख्यमन्त्रीसमेत हुन्।

सत्ता गठबन्धनबाट भने जनमत पार्टीले ममता झा र जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाउने बताएका छन्।

निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ।

शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ।

आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

२७ फागुन, २०७९, १२:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।