उपराष्ट्रपतिको उम्मेदवार पनि पुरुष बनाउनु संविधानको मर्म विपरीत : एमाले

उपराष्ट्रपतिको उम्मेदवार पनि पुरुष बनाउनु संविधानको मर्म विपरीत : एमाले

काठमाडौं : एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने निष्कर्ष निकालेको छ।

शनिबार बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधानको मर्म विपरीत भएको बताएका छन्।

‘आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको छ,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ। त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ।’

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमालेको उपाध्यक्ष समेत रहेकी शाक्य बागमती प्रदेशको पूर्वमुख्यमन्त्री हुन्। उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन्।

२७ फागुन, २०७९, १२:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।