उपराष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज, सत्ता साझेदार दलबाटै तीन जनाकाे दाबी

उपराष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज, सत्ता साझेदार दलबाटै तीन जनाकाे दाबी

काठमाडौं : उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन–पत्र दर्ता हुँदैछ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ।

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ। यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। 

यस्तै, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ।

त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने र ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यक्रम तय भएको छ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ।

उपराष्ट्रपतिको निवार्चन चैत ३ गते हुनेछ।

यसका लागि सत्ता साझेदार आठ दलबाटै तीन जना आकांक्षी देखिएका छन्। जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव, जनमत पार्टीले ममता झा र नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

यद्यपि श्रेष्ठको सवालमा भने उमेर नपुग्ने देखिएको छ। उपराष्ट्रपतिको उम्मेदवार हुन कम्तिमा पनि ४५ वर्ष पूरा भएको हुनुपर्नेमा उनी मात्र ४० वर्षकी हुन्।

२७ फागुन, २०७९, ०७:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।