चौथो महाधिवेशनमा बिपीको घोषणापत्र : शासक वर्गसँग कुबेरको ढुकुटी, गरिब प्रजा प्रतिदिन लुटिँदै, मध्यम वर्ग कंगाल

चौथो महाधिवेशनमा बिपीको घोषणापत्र : शासक वर्गसँग कुबेरको ढुकुटी, गरिब प्रजा प्रतिदिन लुटिँदै, मध्यम वर्ग कंगाल

कांग्रेसको चौथो महाधिवेशन वि.सं. २००६ साल चैत २७ गते देखि २९ गतेसम्म भारतको कलकत्तामा भएको हो। उक्त महाधिवशेन एकदमै महत्वपूर्ण थियो किनभने तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेसबीच एकीकरणपछिको पहिलो महाधिवेशन थियो भने अर्कोतिर नेपालमा राणा शासन विरुद्ध चर्को आन्दोलन सुरु भएको थियो। प्रजातन्त्रको लागि सडकमा आएका नागरिकले नेपाली कांग्रेसको यो महाधिवेशनलाई नजिकबाट हेरेका थिए।

नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्र प्राप्तिमा आफ्नो पार्टीको महत्वपूर्ण योगदान रहेको दावी गर्दै आइरहेको छ। चौथो महाधिवेशनको पूर्वसन्ध्यामा बिपी कोइरालाले पार्टीको घोषणापत्र र प्रस्तावहरु बनाउने जिम्मा पाएका थिए। उनैले बनाएका घोषणापत्रमा पार्टीको उद्देश्य तथा राजनीतिक, सामाजिक एवं औद्योगिक पक्षका बारेमा पार्टीका धारणा प्रस्तुत गरिएको थियो। यस अंकमा हामीले नेपाली कांग्रेसको चौथो महाधिवेशनबाट पारित घोषणापत्र:

नेपाली कांग्रेस
(२००६)

नेपालमा वर्तमान शासन प्रणाली स्थापित भएको एक सय वर्षभन्दा पनि बढी भयो। यस व्यवस्थालाई राणाशाहीको नाउले पनि सम्बोधित गर्ने गरिएको छ। विगत शताब्दी नेपालमा भयङ्कर राजनीतिक आर्थिक र सामाजिक दुस्परिणामको इतिहास हो। यस पारिवारिक शासन व्यवस्थाको जंगबहादुरले छल र कपटको भरमा गरे। नेपालमा वास्तविक शासक महाराजाधिराजलाई समेत सूत्रपात राजबन्दीको रूपमा दरबारमै नजरबन्दझैं गरेका छन्। राजा र प्रजाको बीचमा राणाशाही तगारो बनेको छ। राणावंशीय प्रधानमन्त्रीहरूलाई जनताप्रति कुनै स्नेह छैन। वास्तवमा उनीहरूलाई राजाद्वारा पनि कुनै अधिकार प्राप्त छैन। उनीहरू देश र जनताप्रति हुने योग्य शासकको दायित्व र कर्तव्यबाट धेरै टाढा छन्। स्वभाविक छ कि यस प्रकारको निरंकुश व्यवस्थाप्रति जनताको रत्तिभर सद्भाव छैन। विश्वका जनताले शासनद्वारा प्राप्त गर्न सकेको संवैधानिक अधिकार नेपाली जनताका लागि स्वप्नवत् छ। शासनको निरंकुशता र स्वेच्छाचारिता नै यस व्यवस्थाको वास्तविक स्वरूप हो। अतः यस प्रकारको व्यवस्था जनतामा कहीं/कहिल्यै पनि अप्रिय नै हुन्छ।

राणा शासकहरूले नेपाललाई स्वदेश कहिल्यै स्वीकारेनन्। कुनै विदेशी सरकारले समेत यति साह्रो शोषण गरेको पाइएको छैन, जस्तो कि राणाद्वारा नेपालमा गरियो। संसारका विभिन्न देशहरूले विगत सय वर्षमा अशातीत उन्नति गरेको स्पष्ट छ। युरोप सामन्तकालीन युगको घेराबाट बाहिर निक्ली नयाँ युगमा प्रवेश गरिसक्यो। औधोगीकरणको विस्तारले गर्दा युरोपमा नितान्त नयाँ सभ्यताको जन्म भइरहेको छ। हिन्दुस्तान विदेशीको पन्जामा फसेको हुँदा युरोपलेझैं प्रगति गर्न सकेन, तैपनि नेपालको तुलनामा हेर्ने हो भने हिन्दुस्तानले पनि आश्चर्यजनक प्रगति गरेको छ। विगत शताब्दीको विश्वइतिहास हेर्यो भने देख्छौँ, स्वशासित राष्ट्रहरूले प्रत्येक क्षेत्रमा गौरवपूर्ण उन्नति गरेका छन्। तर हामी नेपाली नागरिकहरू अझै पनि युगविरोधी मध्यकालीन प्रतिक्रियावादी शासकको जातोँमा पिसिइरहेका छौं।

विगत सय वर्षभित्रको राणाशाही व्यवस्थाको परिणामको तस्बिर प्रत्येक नेपालीको हृदयमा  छ। आर्थिक क्षेत्रमा हेर्ने हो भने आजको वैज्ञानिक युगमा हुन पर्ने औद्योगिक विकास हाम्रो देशमा सकेको छैन। खेतीका अतिरिक्त नेपालका सम्पूर्ण उद्योग धन्दामा लगाइएको पुँजी दुई करोडभन्दा बढी छैन। एक करोड जनताका लागि आवश्यक उत्पादनमा दई करोडभन्दा पनि कम हुनु दुःखको चरम अवस्था हो। कृषि विकास कार्यमा पनि सरकारले कुनै योजना कार्यान्वित गरेको छ पंजी टाँसी परिणाम अन्नको उत्पादनमा आश्चर्यजनक कमी हुँदै गइरहेको छ। देशको उर्वर जमिन श्रमिक किसानहरूसँग खोसी राणाशाहीका जी-हजुरिया बिर्तावाल एवं जमिन्दारहरूमा बाँडिएको छ। देशको दयनीय स्थिति यति चरम सीमामा पुगिसकेको छ कि ७५ प्रतिशत पहाडहरू एक छाक अन्न र एउटा घरको लागि पनि हाहा छन्। तराईबासीको अवस्था भन् विकट छ। उद्योग धन्दाका साथै खेतीमा पनि आघात परेकोले दस हजारभन्दा बढी हाम्रा दाजुभाइहरू रोजी-रोटीको खोजीमा प्रतिवर्ष भारत पस्दछन्। देशमा सम्पत्तिको मुख्य भाग राणाशासकको बिर्ता बनिसकेको छ। फलतः नेपालमा अहिले दुई आर्थिक वर्ग शेष छन्। १, शासक वर्ग जोसँग कुबेरको ढुकुटी छ। २, गरिब प्रजा जो प्रतिदिन लुटिँदै छन्। मध्यम वर्ग प्रतिदिन कंगाल वर्गमा बदलिंदो छ।

सरकारी कार्यमा यथासम्भव कम खर्च गरी प्रतिवर्ष बचेको राष्ट्रिय आय प्रधानमन्त्रीका नाउमा विदेशी बैंकमा जम्मा भइरहेको छ। सरकारी कर्मचारीहरू नाम मात्रको तलब पाउँछन्। सरकारी अड्डामा घुसको भर्सेलो पर्नु नै बेतनमा कमीको प्रमाण हो। सामान्य श्रेणीका सरकारी कर्मचारी आधा पेट खाएर सरकारी हुकुम बजाउँछन्। पल्टनका सिपाहीहरूको स्थिति अझ दयनीय छ। दुई छाक खान पाउनु पनि असम्भवप्रायः छ। राणा प्रधानमन्त्रीहरू आफ्ना सिपाही र कारिन्दाको समेत पेट काटी बैंक ब्यालेन्स थप्छन्। नेपालका प्रधानमन्त्रीहरू अनुमानतः प्रतिवर्ष अढाइ करोडभन्दा बढी रूपैयाँ लागि जोगाउँछन्। विगत सय वर्षभित्र भावी नेपालमा कहिल्यै फर्काउन नसकिने गरी नेपाली प्रधानमन्त्रीले कमसे कम एक अरब नगद विदेशी बैंकमा पुर्याइसकेका छन्। नेपाली जनताको खुन र पसीनाले कहिले बिर्सन सक्ला यो जघन्य अपराधलाई? वर्तमान राणाशासनको जग अन्यायपूर्ण भएकोले यसको वास्तविक शक्ति नै दमन हो। यसैले जनतालाई पंगु बनाएर राख्ने नीति सरकारले अपनाउनु कुनै आश्चर्यको कुरा होइन। स्कुल, कलेज र पाठशालाको आधिक्यले जनता शिक्षित हुन्छन्। तर हामीकहाँ ज्ञानको पुञ्जमा शासकको प्रथम कुदृष्टि पन्यो। कत्रो विषदको तत्थ्य हो आजको युगमा पनि सारा एक करोड देशबासीका लागि मात्र आठ वटा हाइस्कुल छन्। पाठशालाको कहीं-कहीं नाम सुनिन्छ। सम्पूर्ण राष्ट्रमा एक मात्र त्रिचन्द्र कलेज छ। शिक्षण क्षेत्रमा हुने खर्चलाई शासकवर्ग आफ्नो बपौतीको दुरूपयोग सम्झन्छन्, जसले गर्दा आज हाम्रो देश दुनियाँको सर्वाधिक अशिक्षित देश हुन पुग्यो। गरिब देशवासीहरू स्वयंको पुँजीले स्कुल पाठशालाहरू खोल्ने चेष्टामा लागेता पनि शासकको कुदृष्टिबाट उनीहरू बच्न पाउँदैनन्। दुनियाँका प्रत्येक देश र सरकारहरू जनतालाई सुशिक्षित तुल्याउन सचेष्ट छन्। तर ठिक विपरीत हाम्रो देशको सरकारले देश अशिक्षित भएमा मात्र जनतामा स्वेच्छाचारी राज्य कायम गर्न सकिन्छ भन्ने विश्वास राख्दै घोर शिक्षाविरोधी नीति अख्तियार गरेको छ।

राजनीतिक क्षेत्रमा यस सरकारको नग्नता अझ भन् स्पष्ट छ। नेपालको प्रत्येक कानुन प्रधानमन्त्रीको स्वविवेकमा आधारित छ। प्रधानमन्त्रीको इच्छामा नै हाम्रो जिउ-धनको फैसला आधारित छ। संसारको इतिहासमा यत्रो स्वेच्छाचारी अधिकार शायदै कसैले पाएको होला। यस तानाशाही सरकारको तुलनमा हिटलर र मुसोलिनीको तानाशाही पनि तल परेको छ। कसैले यो भूल नगरोस् कि यत्रो अधिकार शासकलाई राजा वा प्रजाद्वारा प्रदान गरिएको होला। यो अधिकार उनीहरूले राणा परिवारमा जन्मिएर पाएका हुन्। यस प्रकारको अप्रिय शासन कायम राख्न सरकारले जनताका बीच स्वतन्त्रताको आवाज पुर्याउने सम्पूर्ण बाटाहरू थुनिदिनु पर्दछ। नेपालमा यही भइरहेको छ। लेख्ने, पढने र एक भएर देशको परिस्थितिमाथि छलफल गर्ने कनै पनि नागरिक स्वतन्त्रता हाम्रा देशबासीलाई छैन। सरकारको हरेक मनोमानीलाई चुँसम्म पनि नगरी चुपचाप सहन गर्नु पर्दछ। जो-जसले नागरिक स्वतन्त्रताका लागि प्रदर्शनसम्म पनि गर्ने कुरा सोचे उनका विरोधमा सरकारले भयंकर दमनचक्र चलायो। आज नेपाली नागरिकहरूका लागि नागरिक स्वतन्त्रताको मूलभूत आवश्यकता हुन आएको छ।

माथि संक्षेपमा हुकुमी शासनको तस्बिर खिच्ने साधारण प्रयास मात्र गरिएको छ। नेपालमा अवन्नतिको सम्पूर्ण जिम्मेवारी वर्तमान शासन प्रणालीलाई छ। नेपाल र नेपाली जनताको भविष्य स्वर्णिम बनाउनु छ भने वर्तमान शासन प्रणालीको अन्त्य हुनै पर्दछ। नेपालमा उन्नतिका सम्पूर्ण साधनहरू विद्यमान छन्। हिमालयदेखि तराईसम्म अवस्थित हाम्रो देशमा उन्नतिका प्राकृतिक साधनहरूको केही कमी छैन। हाम्रा देशबासीहरू समझदार र मिहिनेती पनि छन्। स्वेच्छाचारी शासकको जाँतोमा नपिसिएका भए विद्यमान साधनको आडमा आज नेपाल संसारका कुनै पनि प्रगतिशील देशको दाँजोमा पछि पर्ने थिएन। हामीहरू आजसम्म चुपचाप तानाशाही दमन सहँदै आइरहेका छौं। अब हाम्रा देशबासीहरू यस घोर अन्यायका विरुद्ध जुर्मुराएर उठ्न आवश्यक भइसकेको छ। अब यथाशीघ्र सम्पूर्ण अवन्नतिको जरा नै उखेलेर फ्याँकिदिनुपरेको छ। तानाशाही सरकारलाई शीघ्रातिशीघ्र खतम गरी देशोन्नति गर्न हिम्मत गर्ने तरुणहरूले नेपाली कांग्रेसको स्थापना गरेका छन्।

देशबासीहरू जबसम्म एक सूत्रमा बाँधिइदैनन्। अन्यायीले अन्याय गरी नै रहन्छ संगठन जनताको तागत हो। जतिसुकै ठूलो अत्याचारी किन नहोस संगठित जनताका अगाडि उसको अत्याचार टिक्न सक्दैन। नेपाली जनतालाई आफ्ना उचित मागहरूका आडमा संगठित गर्ने ध्येयले नै नेपाली कांग्रेस स्थापित गरिएको छ नेपाली कांग्रेसको तागत नै जनताको तागत हो।

राणाहशाहीको अन्त्य टाढा छैन। देशी-विदेशी परिस्थितिले राणाशाहीलाई थिच्दै आएको छ। राणाशासन भित्रभित्रै मक्किइसक्यो। द्वितीय विश्वयुद्धपछि एसियामा उर्लिएको स्वतन्त्रताको भावनाको प्रभावमा हिन्दुस्तान सयकडौं वर्षको दासताबाट स्वतन्त्र भयो। यसको ठोस असर नेपालमा पनि परेको छ यदि अंग्रेजजस्तो दरिलो शासन हिन्दुस्तानबाट पूर्णतयाः हट्न सक्छ भने राणाशाहीको मान के कुरा? यसमा के सार छ र? यसलाई नेपाली जनताले पूर्णतयाः बुझिसकेका छन्। द्वितीय विश्वयुद्धपछि नेपालमा पनि आन्दोलनहरू भए। विराटनगरमा मजदूर हडताल, सन् ४७ मा नेपाली कांग्रेसद्वारा सञ्चालित जनआन्दोलनपछि जनताका अनेक साना-ठूला प्रदर्शनहरू यसका प्रमाण हुन्, जसले नेपाली जनताको आत्मविश्वास बढाएका छन्। यी जनसंघर्षहरूले एकताको आडमा संगठित भएर वर्तमान एकतन्त्री शासनको ठाउँमा आफूले चुनेका व्यक्तिहरूद्वारा सञ्चालित र आफनो हित गर्न सक्ने सरकार स्थापित गर्नुपर्ने भावना जनतामा भरिदिएको छ। जनताका मुटुबाट तानाशाही आतङ्क क्रमशः अब केबल यत्ति शेष छ- जनता आफ्नो राष्ट्रिय संस्थाअन्तर्गत संगठित भएर भित्रभित्रै थोत्रिइसकेको यस स्वेच्छाचारी शासनलाई अन्तिम धक्का दिएर जरैदेखि उखेलिदियोस्। नेपाली कांग्रेस यसै आवश्यकताको पूर्तिमा सजग र सचेत छ। नेपाली कांग्रेसले सम्पूर्ण जनताको तागत बटुलेर एउटा अन्तिम आन्दोलन गरी स्वेच्छाचारी पारिवारिक शासनलाई उखेलेर फाँक्ने निश्चय गरेको छ।

हामी स्वेच्छाचारी राजा पनि मन पराउँदैनौँ
नेपाली कांग्रेसको ध्येय स्पष्ट छ। यसले महाराजाधिराजको वैधानिक नायकत्वमा जनताप्रति उत्तरदायी शासन कायम गर्न चाहन्छ। निरंकुश राणाशाहीले अरुलाई जस्तै नै महाराजाधिराजलाई पनि स्वतन्त्रताबाट वञ्चित राखी अधिकारविहीन तुल्याएको छ। हामी आज महाराजाधिराजलाई पनि बन्दीतुल्य जीवनबाट मुक्त गरी राज्यको प्रधान पदमा प्रतिष्ठित गर्न चाहन्छौं। यहाँ यो स्पष्ट गरिदिन चाहन्छौं कि हामी उहाँलाई एक वैधानिक शासकले पाउनुपर्नेजति अधिकार मात्र प्रदान गर्नेछौं, जसले गर्दा महाराजाधिराजले पनि अगाडि गएर स्वेच्छाचारी एवम् निरंकुश हुन सक्ने बाटो  नरहोस्। जनताका प्रतिनिधिहरूद्वारा निर्मित विधानअनुसार उहाँका नाउँमा सरकार बल्नेछ। शासनको सम्पूर्ण वाग्डोर जनताद्वारा निर्वाचित प्रतिनिधिहरूका हातमा रहनेछ। महाजाधिराजले निर्वाचनका आधारमा जनतातिरबाट आउने जनप्रतिनिधिहरूद्वारा शासन चलाउनको लागि मन्त्रीमण्डल खड़ा गरी उसैको नियन्त्रणमा रही शासन गर्नु पर्नेछ। हामी स्वेच्छाचारी राजा पनि मन पराउदैनौ। हाम्रा मागहरूको मूल नै उतरदायी शासन हो जनताप्रति जबापादेही सरकारको शासन ने उत्तरदायी शासन हो। यसको तात्पर्य यही हो कि सरकारले आफ्ना क्रियाकलापहरूको सारा लेखाजोखा जनतालाई बुझाउनु पर्दछ। जनतालाई सरकारको कार्यक्रम मन परेन भने तुरुन्तै त्यसलाई खारेज गर्न सकिन्छ। तात्पर्य के हो भने, उत्तरदायी शासन कायम भइसकेपछि शासकले कुनै प्रकारको पनि मनोमानी गर्न पाइने छैन। सरकार जनताको रायअनुसार पाइला चालन बाध्य हुनेछ। सम्पूर्ण शासन महाराजाधिराजबाट चलाइए तापनि सारा नियम-कानुनहरू जनताका प्रतिनिधिहरूद्वारा नै तय गरिनेछ। मन्त्रिमण्डलको काम केबल ती नियम-कानुनहरूलाई देशमा लागूसम्म गर्नु हुनेछ। त्यस मन्त्रिमण्डललाई मन पराउने वा नपराउने सारा हक जनतालाई नै हुनेछ। संक्षेपमा उतरदायी शासनको अर्थ हुन्छ, शासनसम्बन्धी सम्पूर्ण अधिकार जनतमा निहित रहनु।

वर्तमान शासनको अन्त्य भइसकेपछि नेपाली कांग्रेसले बालिग मताधिकारको आधारमा चुनिएका जनप्रतिनिधिको एउटा परिषद् वा सभा बोलाउने छ। यसै परिषद् वा सभालाई नेपाल जन-राज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियम-कानुन बनाउने सम्पूर्ण जिम्मेवारी सुम्पिने छ।

माथि संक्षेपमा भनिएका कुराले नेपाली कांग्रेसको ध्येय वा लक्ष्यसम्बन्धी राजनीतिक पक्ष प्रस्टयाउँछ। यसका अन्य पक्षहरू पनि हामी खुलस्त पार्छौं:

राजनीतिक सुधारले मात्र नेपाली कांग्रेस सन्तुष्ट हुने छैन
माथि भनिएझैँ राजनीतिक सुधारले मात्र नेपाली कांग्रेस सन्तुष्ट हुने छैन। नेपाली कांग्रेसले नेपालमा आर्थिक सुधार गरी जनताको आर्थिक उन्नति पनि गर्नेछ। आर्थिक दृष्टिले वर्तमान नेपालको समाजिक व्यवस्था अत्यन्त अन्यापूर्ण छ। धनी र गरिबबीचको भेदभावले समाजको सारा शक्ति नष्ट भएको छ। नेपाली कांग्रेस जुन समाजको निर्माण गर्न गइरहेको छ, त्यस समाजमा शोषणले कुनै ठाउँ पाउने छैन। अर्थात् धनीहरू धनका बलले गरिबमाथि अन्याय गर्न पाउने छैनन्। नेपाली कांग्रेस समानता र इन्साफको आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण गर्न आकांक्षा राख्दछ। अनेक प्रजातन्त्रवादी देशहरूको इतिहास ध्यानमा राख्दै नेपाली कांग्रेस यस निष्कर्षमा पुगेको छ के बल प्रजातन्त्रको मात्र चर्चा गर्नु निरर्थक कुरा हो। कोरा राजनीतिक परिवर्तन मात्रले जनताको वास्तविक हित असम्भव छ। यद्यपि, स्वेच्छाचारी शासनमा पिसिइरहेका हामी नेपालीहरूलाई प्रजातन्त्रवादको फोस्रो नारा मात्र पनि काफी मधुर लाग्न सक्दछ। 

प्रजातन्त्रवादका सम्बन्धमा कुनै सम्झौतावादी विचार हाम्रा लागि रूचिकर हुनेछ। तर प्रजातन्त्रवादी देशहरूको इतिहासले हामीलाई सिकाएको छ कि न्यायपूर्ण आधारमा जबसम्म समाजको पुनर्निमाण भइसक्दैन, तबसम्म समाजको सर्वांगिण विकास सर्वथा असम्भव छ। राजनीतिक क्षेत्रमा प्रजातन्त्रवाद स्थापित भइसकेपछि पनि आर्थिक शोषण रही नै रह्यो भने जनताको सुख र समृद्धिमा कुठाराघात नहोला भन्न एकदमै सकिँदैन। उक्त विषय ध्यानमा राख्दै नेपाली कांग्रेसले राजनीतिका साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रलाई आफ्नो आदर्श मान्दछ। उदाहरणका लागि नेपाली कांग्रेस नेपालको वर्तमान आर्थिक क्षेत्रमा ५ प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश भाग हुन् तथा अन्य बाँकी ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनु अन्यायपूर्ण ठानी यसको घोर विरोध गर्दछ। नेपाली कांग्रेसको विचारमा यस अन्यायपूर्ण बन्दोबस्तका ठाउँमा भूमिको पुनः न्यायपूर्ण वितरण हुनु पर्दछ। नेपालको आर्थिक आधार आजसम्मको खेती नै भएकोले नेपाली कांग्रेसका विचारमा वर्तमान अन्यायपूर्ण भूमि वितरणको ठाउँमा न्यायपूर्ण बन्दोबस्त हुनु नेपालका लागि सबैभन्दा ठूलो आर्थिक क्रान्ति हुन जानेछ। यस क्रान्तिमा लागि नेपाली कांग्रेस जनतालाई सचेत गर्दछ। 

नेपाली कांग्रेसको विचारमा आजको भूमि-व्यवस्था नै नेपाली जनताको दरिद्रताको सर्वोपरी कारण हो। यथाशीघ्र यसलाई बदल्नु छ। नेपाली कांग्रेसका विचारमा सरकारले ठूलाठूला जमिनदार र बिर्तावालको जमिन परिश्रमी किसान वा खेती-मजदूरमा बाँडिदिनु पर्दछ। नेपालका जनताको आर्थिक हालत जमिनसँग सम्बन्धित छ। र, स्वयं नेपालका समस्त जनताको प्रतिनिधि भएकोले नेपाली कांग्रेस आफूलाई किसान वा खेतमा काम गर्नेहरूको एक मात्र प्रतिनिधि र हितैसी ठान्दछ।

हालसालै नेपालमा ठूला-ठूला उद्योगधन्दा र मिल-कारखानाहरूको विकास हुन सकेको छैन। नेपाली कांग्रेस सम्बन्धित विषयमा आफ्नो स्पष्ट नीति निर्धारण गर्दछ। नेपालमा उद्योगधन्दामा निहितस्वार्थको उदय अझै भइसकेको छैन। नेपाली कांग्रेसको विचार छ कि निकट भविष्यमा नै जनताको सरकार कायम भइसकेपछि देशमा औद्योगिकीकरणको यथोचित भार सरकारले नै उठाउनु पर्नेछ। नेपाली कांग्रेसको विचार छ, नेपालमा जनराज्य कायम भइसकेपछि बृहत् योजनानुसार देशमा औद्योगीकरण गर्नेछ। आफ्नो अटुट ध्येयअनुसार नेपाली कांग्रेस कारखाना वा अन्यत्र काम गर्ने मजदूर कर्मचारीहरूलाई प्रजातन्त्रवादी सिद्धान्तको आधारमा आफ्ना संगठन खोल्ने वा युनियन बनाउने पूर्ण स्वतन्त्रता प्रदान गर्नेछ।

आजको वैज्ञानिक युगमा दुनियाँको सम्पूर्ण राष्ट्र आपसी सम्बन्धले गर्दा एकै सूत्रमा गासिएका छन् अतः कुनै पनि देशको विदेश नीति महत्वपूर्ण कुरो मानिन्छ। नेपाली कांग्रेस नेपालको पूर्ण स्वतन्त्रता एवम् सार्वभौमसत्ताको कट्टर रक्षक आफूलाई ठान्दछ। नेपालको पूर्ण स्वतन्त्रता एवम् सार्वभौमसत्ताको रक्षा गर्दै नेपाली कांग्रेस संसारका अन्य देशहरूसँग दौत्य सम्बन्ध कायम गर्ने कराको समर्थन गर्दछ। भारतसँग नेपालको पुरानो धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध छ। अतः हामी भारतको हरसम्भव उन्नतिको कामना गर्दै ऊसँग घनिष्ठ सम्बन्ध कायम गर्न इच्छुक छौं।

नेपालले भारतको अहित कहिल्यै चिताउने छैन। समान्य भौगोलिकताले गर्दा यी दुवै देशका बीच कुनै प्रकारको पनि विरोध हुनु लाभप्रद कदापि हुने छैन। निकट भविष्यमा स्वतन्त्र हुन गइरहेको भारतले पनि नेपालको कुनै प्रकारको अहित सोच्ला, यो कल्पना कदाचित हामीहरू गर्न सक्दैनौं। जहाँसम्म नेपालको स्वतन्त्रता र गौरवमा कुनै प्रकारको धक्का लाग्ने छैन वा देशको कुनै पनि अहित हुने छैन, तबसम्म भारत र नेपालका बीच वर्तमान निरंकुश शासनद्वारा गरिएका सन्धिहरू पनि नेपाली कांग्रेस यथावत् स्वीकार गर्दछ। अन्यथा भविष्यमा स्थापित हुने नेपाली प्रजातान्त्रिक सरकारले स्वदेश र भारतको हितलाई ध्यानमा राख्दै नयाँ सन्धि गर्नेछ।

अन्य देशहरूको अपेक्षा नेपालको विशेष घनिष्टता भारतसँग नै भएकोले प्रजातान्त्रिक नेपाल तथा अन्य देशका बीच हुने आपसी सम्बन्ध भारतीय नीतिअनुकुल नै हुनेछ। चीनसँग पनि नेपालको पुरानो सम्बन्ध छ। विगत चिनियाँ क्रान्तिमा जनभावनाको विस्फोट भएको छ। नेपाली कांग्रेस नवनिर्मित चीन सरकारप्रति मैत्रीभाव राख्दछ।

नेपालमा विदेशी सामरिक, आर्थिक कुनै प्रकारको पनि हस्तक्षेप नेपाली कांग्रेस मन पराउँदैन। नेपालको वर्तमान निरंकुश शासकले स्वयंलाई अझै केही दिन कायम राख्ने उद्देश्यले विदेशी शक्तिलाई भित्र्याएर अधिकारिक सहायता प्राप्त गर्न सक्ने नीति अपनाएका छन्। नेपालमा विदेशी शक्तिहरूको हस्तक्षेपलाई नेपाली कांग्रेस घोर विरोध गर्दछ।

नेपाली कांग्रेसको विचारमा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाउनुपर्छ। संसारमा शान्ति कायम गर्ने उद्देश्यले संगठित कुनै पनि अन्तर्राष्ट्रिय संगठनमा नेपाल सम्मिलित हुनुपर्दछ भन्ने कुराको हामी समर्थन गर्दछौं। हाम्रा सम्पूर्ण विदेशी नीतिको आधार नै विश्वशान्ति हुनेछ।

सामरिक दृष्टिले एसियाली देशहरूको स्वातन्त्रता संग्रामका प्रति हाम्रो निकै ठूलो जवाफदेहिता छ हाम्रो हार्दिक अभिलाशा छ- हामी एसियाली देशहरूमा विदेशी प्रभुत्व, हस्तक्षेप एवम् सामन्तशाहीको अन्त्य होस् र त्यस ठाउँमा पूर्ण लोकतन्त्र स्थापना होस्।

(मङ्सिर २४ गतेदेखि काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनलाई केन्द्रित गरी उकेराले कांग्रेसको इतिहाससँग सम्बन्धित सामग्रीहरू विभिन्न पुस्तकबाट साभार गरेको छ। यो घोषणापत्र  'नेपाली कांग्रेसको ऐतिहासिक दस्ताबेजहरू' बाट साभार गरिएको हो।)

- सम्पादक

२१ मंसिर, २०७८, १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।