सैनिक हत्या मुद्दामा सर्वोच्च पुग्यो महान्यायाधिवक्ता कार्यालय, आज दर्ता भएन रिट

सैनिक हत्या मुद्दामा सर्वोच्च पुग्यो महान्यायाधिवक्ता कार्यालय, आज दर्ता भएन रिट

काठमाडौँ : महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौडा इजलासविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

तर, रिटको संक्षेपिकरण नलेखिएकाले आज दर्ता नभएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। रिट दर्ताको प्रक्रियामा रहेको र भोलि दर्ता हुने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए। 

सैनिक जवान गंगाधर ढकालले गरेको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालत चितवनका न्यायाधीशले सैनिक अदालतमा पठाउने आदेश र त्यो आदेशलाई सदर गर्ने हेटौडा इजलासविरुद्ध रिट दायर गरेको प्रवक्ता रेग्मीले जानकारी दिए। 

रिटमा चितवन जिल्ला अदालत, पाटन उच्च अदालत हेटौँडा इजलास र सैनिक जवान गंगाधर ढकाललाई विपक्षी बनाइएको छ। ‘सेनाकै हतियार प्रयोग गरेर हत्या भएको मुद्दा सैनिक ऐन विपरीत जिल्ला अदालतमा सुनुवाइ भएन,’रेग्मीले उकेरासँग भने,‘उच्च अदालत हेटौडा इजलासले पनि जिल्लाकै आदेशलाई सदर गरेकाले महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको हो।’ 

नेपाली सेनाको शिवपुरीमा कार्यरत ढकालले सेनाकै भरत गुरुङलाई गोली हानेर हत्या गरेका थिए। 

कात्तिक ४, २०७८ बिहीबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।