नयाँ नोट छाप्न हुन्छ अर्बौँ खर्च, नोटको आयु बढाउन खाममा दिऊँ दक्षिणा

नयाँ नोट छाप्न हुन्छ अर्बौँ खर्च, नोटको आयु बढाउन खाममा दिऊँ दक्षिणा

काठमाडौँ :  दसैँमा आफन्त तथा मान्यजनको आशीर्वाद लिने, नयाँ लुगा लगाउन पाउने भएका कारण दसैँको रौनक नै छुट्टै छ। दसैँमा टिका लगाएर दक्षिणा दिँदा होस् वा पूजा गर्दा नयाँ नोटको प्रयोग हुने गरेको छ।

यस वर्षको दसैँमा मात्रै सर्वसाधारणले ३८ अर्ब बढी रुपैयाँ नयाँ नोट सटही गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

यसरी बर्सेनि सटही गरिने नयाँ नोटको सुरक्षाको लागि भने खासै ध्यान दिइँदैन। नोटलाई अबिरसँग दल्ने, स्टिज लगाउने, लेख्ने, च्यात्ने र फोहोर गर्ने भएकाले नोटको आयु चाँडै सकिन्छ। सरकारले झुत्रो नोटलाई जलाउन बाध्य हुन्छ र नयाँ नोट छाप्नुपर्छ।

नयाँ नोट छपाइको लागि भनेर मात्रै राज्यको ढुकुटीबाट वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने गरेको छ।

नोटको आयु बढाउन नेपाल राष्ट्र बैङ्कले सफा नोट नीति पनि ल्याइसकेको छ। नोटका प्रयोगकर्ताले चलनचल्तीमा रहेको नोटलाई नियतवश सफा नोट नीतिको विरुद्धमा गएर नोटको प्रयोग गरे जरिवाना सहित जेलसम्मको सजाय तोकिएको छ।

तर नोटको सुरक्षामा उपभोक्ता सचेत नहुँदा त्यति प्रभावकारी हुन सकेको छैन।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को मुद्रासम्बन्धी कसुर महलको दफा २ सय ६३ को उपदफा १ र २ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने उल्लेख गरिएको छ। 

सो ऐन अनुसार अधिकार प्राप्त अधिकारीको आदेशबिना कसैले पनि मुद्राको रूपमा प्रयोगमा आएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन भन्ने उल्लेख गरिएको छ।

राष्ट्र बैङ्कले सफा नोट नीति ल्याएसँगै सोको पालना नगर्नेलाई कानुन बमोजिम कारबाही गर्ने राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल नयाँ नोट मात्र नभएर राष्ट्र बैङ्कले प्रचलनमा ल्याउने नोटहरू पनि जतन गर्नुपर्ने बत्ताउँछन्।

दसैँमा टिका लगाएर दक्षिणा दिँदा अबिर जमरासँगै राखेर दिनु भन्दा  सकेसम्म खाममा राखेर दक्षिणा दिनु पर्ने उनको भनाई छ। उनी अझ अहिले त डिजिटल दक्षिणा दिनु राम्रो भएको सुझाव दिन्छन्।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको फोहोर गर्दा, केरमेट, च्यातेको र पोलेको प्रहरीले भेटेमा वा कहीँ कतैबाट उजुरी आएमा उनीहरूलाई तोकिएको कानुनी कारबाही हुने राष्ट्र बैङ्क बताउँछ किनकि हामीले नै कर तिरेको पैसा राज्यको ढुकुटीमा जम्मा भएको हुन्छ र सोहीबाटै नोट छपाइमा खर्च हुन्छ। त्यसैले नोटको सुरक्षा गर्नु सबैको दायित्व हो।

सफा नोट नीति ल्याएसँगै सोको पालना नगर्नेलाई कानुन बमोजिम कारबाही हुँदै आएको छ । नयाँ नोट मात्र नभएर राष्ट्र बैङ्कले प्रचलनमा ल्याउने नोटहरूको सुरक्षा गर्नु पर्छ ।

 

दसैँको बेला ३८ अर्बको नयाँ नोट साटियो

दसैँमा सर्वसाधारणले ३८ अर्ब बढी रुपैयाँ नयाँ नोट सटही गरेका छन्। नेपाल राष्ट्र बैङ्कले असोज ४ गतेबाट दसैँ लक्षित गरी नयाँ नोट साटेको थियो। राष्ट्र बैकका अनुसार बिदाको दिन बाहेक असोज २५ गतेसम्म साना तथा ठुलादरका गरी ३८ अर्ब १० करोड रुपैयाँ नयाँ नोट सटही भएको छ ।

राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालका अनुसार नयाँ नोटमा साना दरमा १३ अर्ब रुपैयाँ र ठुला दरका २५ अर्ब रुपैयाँ सर्वसाधारणले सटही गरेका हुन्।

नयाँ नोट सटहीमा राष्ट्र बैङ्कले ५, १०, ५० र १०० दरका नोट मात्र राखेको थियो। ५०० र १००० दरका ठुला नोटहरू भने नयाँ तथा सुकिला नोट नै सटही गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले भदौ २८ गतेदेखि असोज २५ गतेसम्म नयाँ नोट वितरण गरेको थियो।

राष्ट्र बैकका अनुसार नयाँ नोट भनेर साना दरका नोट मात्र सटही भएका छन्। नेपालमा गत वर्षको असोजमा ५ खर्ब ६३ अर्ब रुपैयाँ नोट चलन चल्तीमा थियो। हाल त्यो सङ्ख्या बढेर ७ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैङ्कले सबै प्रादेशका कार्यालयहरूबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो। 

२७ असोज, २०७८, १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।