गोेला प्रथाबाट छानिएका ११ सय ७५ जना इजरायल जाने पक्का

गोेला प्रथाबाट छानिएका  ११ सय ७५ जना इजरायल जाने पक्का

काठमाडौँ : रोजगारीका लागि इजरायल जान इच्छुक कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ।

इजरायली दूतावासमा विभागले बुझाएको १ हजार ६ सय जनाको सूचिबाट ११ सय ७५ जनाको नाम चिट्ठा प्रणाली मार्फत सार्वजनिक भएको हो।

विभागले सहभागीमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) लाई सिफारिस गरेको थियो। इजरायलको पीआईबीएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गरेको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए। 

नाम ननिस्केका बाँकी कामदार जान पाउने नपाउने निर्णय भने नभएको काफ्लेले बताए। ‘बाँकी नामावली के हुने भनेर छलफल हुनै छ। आज सार्वजनिक भएको लिस्टमा नाम भएका कामदार भने जान पाउने पक्का भएको छ,’ उनले भने, ‘कहिलेबाट जान पाउने भन्ने निर्णय भएको छैन।’ 

उनीहरूको स्वास्थ्य परीक्षण र पुलिस रिपोर्ट बनाउन बाँकी रहेको उनले बताए। दसैँ पछि मात्रै कहिले देखि जाने भनेर निर्णय गर्ने उनले बताए। 

खर्च कामदारले नै व्यहोर्नु पर्ने

‘जिटुजी’ सम्झौता भएर कामदार इजरायल जान पाउने भए पनि लागत खर्च कामदारले नै व्यहोर्नु पर्ने विभागले बताएको छ।

रोजगारीमा जान चाहनेले भिसा पाइसकेपछि आफैले टिकट काटेर आफ्नै खर्चमा जानुपर्ने हुन्छ। भिसा शुल्क मात्रै सम्बन्धित रोजगारदाता आफैले बेहोर्नेछ। 

विभागका अनुसार इजरायल जाने टिकटको लागि अनुमानित डेढ लाख रुपैयाँ लाग्छ। पासपोर्ट बनाउन, छनोट भएर इजरायल जानु भन्दा पहिले पूर्व प्रस्थान अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, वैदेशिक कल्याणकारी कोष लगायतमा खर्च लाग्छ। त्यो सबै रकम सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्ने छ।

तलब झन्डै २ लाख

इजरायल जाने कामदारको न्यूनतम तलब मासिक १६ सय डलर अर्थात् झन्डै एक लाख ९० हजार रुपैयाँ छ। तर उक्त रकमबाट आय कर, स्वास्थ्य बिमाबापतको रकम सरकारलाई बुझाउनु पर्छ।

रोजगारीका लागि इजरायल जाने केयर गिभरको भिसा अवधि सुरुमा १ वर्षको हुने र पछि ५ वर्षसम्म अवधि बढाउन सकिन्छ। इजरायलमा ५ वर्ष बिताइसकेपछि भने अनिवार्य रूपमा स्वदेश फर्कनु पर्ने विभागले सर्त राखेको छ। 

इजरायल जान पाउनेहरूको नामावली हेर्न यहाँ क्लिक गर्नु होला

२५ असोज, २०७८, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।