कवाडमा लगाइएको दोहोरो कर हटाउन रुपन्देहीका व्यवसायीको माग

कवाडमा लगाइएको दोहोरो कर हटाउन रुपन्देहीका व्यवसायीको माग

बुटवल : नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघ, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाले लगाएको दोहोरो कर प्रणाली फिर्ता गर्न आग्रह गरेको छ।

व्यवसायीहरुले बुटवलमा पत्रकार सम्मेलन गरी दोहोरो कर प्रणाली खारेज गर्न माग गरेका हुन्।

व्यवसायीसँग कुनै छलफल र परामर्श नै नगरी टेन्डरमार्फत नगरपालिकाले एकलौटी ढंगबाट लगाएको कर आफूहरूले तिर्न नसक्ने उनीहरुले बताए।

संघका अध्यक्ष भगवती जैसवालले नगरपालिकाको कर माथि कर थप्ने नीतिले व्यवसायीहरु विस्थापित हुने अवस्था आएको बताए।

करको विरोध स्वरुप माघ २७ गते व्यवसायीहरुले नगरपालिका घेराउ कार्यक्रम राखेका छन्। त्यस्तै बिहीबारदेखि कवाड संकलन र किनबेच पनि बन्द गरेका छन्। 

नगरपालिकाले व्यवसायीसँग थप कर लिनका लागि एनएस इन्टरप्राइजेज, ओमसतियासँग गत माघ १९ गते सम्झौता गरेको थियो। सिद्धार्थनगरमा पुनः प्रयोग योग्य वस्तु व्यवसायीहरु १५ जना रहेका छन्।

व्यवसायीहरुले सम्पूर्ण कारोबार भ्याट बिलमा गर्नुका साथै नगरपालिकालाई समेत छुट्टै कर तिर्दै आएको अवस्थामा पुनः अर्को व्यवस्था गरी कर असुली गर्दा मारमा परेको गुनासो गरेका छन्।

२६ माघ, २०७९, ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।