चितवन-२ मा उपनिर्वाचन होइन, आफूलाई निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठकाे माग

चितवन-२ मा उपनिर्वाचन होइन, आफूलाई निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठकाे माग

काठमाडौं: नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले रवि लामिछानेकाे सांसद पद खारेज भएका कारण चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणा गर्नुपर्ने माग राख्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

आइतबार पत्रकार सम्मेलनमा बाेल्दै उनले चितवन-२ मा उपनिर्वाचन गर्नु नपर्ने पनि बताएका छन्।

श्रेष्ठ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. २ मा लामिछानेसँग पराजित भएका थिए।

नेता श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा–४ बमोजिम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र पाउँ भन्दै आयोगमा निवेदन दिएका हुन्।

कुनै पनि विदेशीले वा नेपाली नागरिकता नभएको कुनै पनि व्यक्तिले प्रतिनिधिसभाको सदस्यको निर्वाचनमा मनोनयन दर्ता गर्न, उम्मेदवार हुन र निर्वाचनमा भाग लिई सांसद हुन संविधान एवं कानूनले प्रतिबन्ध लगाएको छ।

याे अवस्थामा सो कुरालाई बेवास्ता गरी चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उम्मेद्वार भई निर्वाचनमा भाग लिनु नै गलत भएकाे भनि उनले निवेदन दिएका छन्।

‘रवि लामिछानेलाई निर्वाचन प्रयोजनका लागि उम्मेदवार, सांसद, मन्त्री वा उपप्रधानमन्त्री मान्न वा ठान्न सकिन्न,’ श्रेष्ठले दिएको उजुरी पत्रमा भनिएको छ।

उनले भने ‘जो व्यक्तिलाई कानुनले उम्मेदवार नै मान्न सक्दैन वा निर्वाचन प्रयोजनका लागि चिन्दै चिन्दैन, त्यस्तो व्यक्तिले निर्वाचनमा जितेको ठान्न पनि सकिन्न।’

यस्तो अवस्थामा रवि लामिछाने बाहेकका उम्मेद्वारहरुका बीचमा मात्रै निर्वाचनमा प्रतिष्पर्धा भएको कानुनी अवस्थालाई इन्कार गर्न नसकिने श्रेष्ठले पेश गरेको निवेदनमा उल्लेख छ।

‘तसर्थ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ अनुसार सबैभन्दा बढी मत प्राप्त गरेको म निवेदक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रष्टै छ,’ श्रेष्ठले आयोगमा पेश गरेको निवेदनमा उल्लेख छ।

लामिछाने उम्मेदवार नै नरहेपछि उम्मेद्वारको संख्यामा उनको गन्ति हुन नसक्ने श्रेष्ठको तर्क छ। चितवन क्षेत्र नं. २ मा आफूसहित १५ जना उम्मेदवार रहेकोमा आफूले सबैभन्दा धेरै (१४ हजार नौ सय ८८) मत प्राप्त गरेको उनले बताएका छन्।

लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी विषयमा छानबिन हुन बाँकी नै रहेको र त्यस्तो अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (घ) को अवस्था उत्पन्न हुँदा रवि उपनिर्वाचनमा पनि उम्मेद्वार बन्न नसक्ने अवस्था रहेकाे उनले बताए।

२२ माघ, २०७९, २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।